काठमाडौं– नेपाल ट्रष्टको कार्यालयले आफ्नो स्वामित्वमा रहेको कमलादीको २ रोपनी ४ आना २ पैसा जग्गा ३० वर्षका लागि भाडामा लगाउने भएको छ।
ट्रष्टको कार्यालयले उक्त जग्गा ३० वर्षका लागि भाडामा लगाउने गरी मंगलबार ६० दिने सूचना जारी गरेको हो।
कार्यालयले अहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेडले प्रयोग गर्दै आएको उक्त जग्गा ३० वर्ष लिज भाडाका लागि टेन्डर गरेको हो।
३ वर्ष निर्माण अवधिसहित ३० वर्षका लागि जग्गा भाडामा लगाउने गरी टेन्डर गरेको कार्यालयका सहसचिव भिष्मकुमार भुसालले जानकारी दिए। जग्गा लिज भाडा लिने कम्पनीले न्यूनतम १ अर्ब १७ करोड १५ लाख ७९ हजार रुपैयाँ ट्रष्ट कार्यालयले पाउने गरी टेन्डरमा सहभागी हुन पर्ने सर्त राखेको छ।
उक्त जग्गामा व्यापारिक भवन बनाउन पाइने टेन्डर सूचनामा उल्लेख छ। तर, भवनको नक्सा तथा डिजाइन भने स्वीकृत हुने पर्ने र बढी भन्दा बढी प्रयोगमा ल्याउने गरी भवन बनाउनुपर्ने उल्लेख छ।
अहिले खानेपानी लिमेटेडले यो जग्गाको भाडा मासिक ५५ हजार ८ सय ७३ रुपैयाँ तिर्दैै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।