काठमाडौं– अस्ट्रेलियासँगको पाँच खेलको टि–२० क्रिकेट सिरिजको पहिलो खेलमा घरेलु टिम न्युजिल्यान्डले जित निकालेको छ। सोमबार भएको खेलमा न्युजिल्यान्डले अस्ट्रेलियालाई ५३ रनले पराजित गरेको हो।
१८५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको अस्ट्रेलियाले १७.३ ओभरमा सबै विकेटको क्षतिमा १३१ रन मात्रै बनाउन सक्यो।
अस्ट्रेलियाका अग्रपंक्तिका ब्याट्सम्यानले खराब खेल्दा टिम हार्न पुग्यो। मिचेल मार्सले ४५, एस्टोन एगरले २३ र एडम जाम्पाले अविजित १३ रन बनाउन बाहेक अन्य ब्याट्सम्यान सस्तैमा समेटिए। बलिङतर्फ न्युजिल्यान्डका इश सोधीले चार ओभरमा २८ रन खर्चिएर चार विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १८४ रन बनाएको थियो।
न्युजिल्यान्डका लागि डेभोन कोनवोयले ५९ बलमा अविजित ९९ रन बनाए। त्यस्तै, ग्लेन फिलिप्सले ३० र जेम्स निशामले २६ रन बनाए। बलिङतर्फ अस्ट्रेलियाका ड्यानियल साम्स र रिचार्डसनले समान २–२ विकेट लिए।
पाँच खेलको टि–२० क्रिकेट सिरिजमा यो जितसँगै न्युजिल्यान्डले १–० को अग्रता बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।