काठमाडौं- दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा छोटो फिल्म ‘बरदान’को छायांकनको काम सम्पन्न भएको छ। तीन दिन लगाएर छायांकन सकिएपनि साजसज्जाका काम बाँकी रहेको निर्माण पक्षले जानकारी दिएको छ।
फिल्म एक महिनापछि मात्रै डिजिटल प्याटफर्ममा रिलिज गर्ने तयारी गरिएको छ। करिब २० मिनेटको छोटो फिल्म लकडाउनले जन्माएको फिल्मका निर्देशक लामाले बताए।
‘लकडाउनका समयमा धेरै मानिसमा मानसिक समस्या र आत्महत्याका घटना घटे भन्ने सर्वेक्षणका आधारमा हामीले यो छोटो फिल्म बनाएका हौं,’ उनले भने।उनका अनुसार फिल्म निर्माणमा ‘कोशिस नेपाल’को पनि सहयोग छ।
कम बजेटमा बनाइएको फिल्मलाई समय भने धेरै लागेको छ। असोजदेखि फिल्म निर्माणका लागि सोचेको र बल्ल काम अगाडि बढेको पनि लामाले बताए।
फिल्ममा कलाकार नम्रता श्रेष्ठको भुमिका पनि निकै महत्वपूर्ण भएको लामाले बताए। उनले भने, ‘नम्रता आफै कुनै समयमा मानसिक समस्यामा परिसकेकी कलाकार हुन्।’ उनीसँग पनि धेरै कुरा थाहा भएको लामाको भनाइ छ।
फिल्ममा नम्रतासँगै मुख्य भुमिकामा दयाहाङ राई पनि छन्। अन्य कलाकारहरु प्रविन खतिवडा, लुनिभा तुलाधर, पुष्कर गुरुङ, जयानन्द लामा, शारदा गिरी लगाएतको अभिनय रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।