काठमाडौं- पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)का प्रमुख एहसान मनीले भारतमा हुने भनिएको टी-ट्वान्टी विश्वकप क्रिकेट आयोजना अन्तै सार्न पर्न सक्ने बताएका छन्। भारतले पाकिस्तानका सबै खेलाडीको भिसा र सुरक्षा साथै दर्शकलाई खेल हेर्ने वातावरणको लिखित विश्वास नदिलाएसम्म आफूहरु भारतमा सहभागी नहुने उनले बताएका हुन्।
भारतले कुनै पनि हिसाबले अयोजना गर्न असफल हुने देखिएमा युएईलाई विकल्पको रुपमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नै हेरिरहेको समेत एहसानले बताएका छन्। अहिले भारतमा हुने भनिएको टी ट्वान्टी विश्वकप पहिले अस्ट्रेलियामा हुने तयारी भइरहेको थियो। कोरोान माहामारीका कारण अस्ट्रेलियाले २०२२ को विश्वकप गर्नेगरी २०२१ मा भारतमा गर्ने तयारी भइरहेको हो।
प्रतियोगिता २०२१ को अक्टोवर–नोभेम्बरमा गर्ने तयारी छ। जसमा भारत र पाकिस्तानमा देखिएको मनमुटावका कारण आइसिसीले दुवै देशका सम्बन्धितसँग छलफल गरेर सहभागिता निश्चित गर्ने प्रयास गरिरहेको छ।
‘हाम्रो सरकारले भारतमा खेल्न सकिँदैन भन्ने विषयमा कहिल्यै बोलेको छैन। हामीले आइसिसीसँग पनि हामी खेल्न तयार छौँ नै भनेका छौँ। तर त्यसका लागि लिखित विश्वास भारतले दिलाउनुपर्छ भनिरहेका हौँ। त्यसका लागि खेलाडी र पदाधिकारीको भिसा र सुरक्षाको मात्र कुरा होइन समर्थकहरु पनि निश्चिन्त भएर भारतमा खेल हेर्न जान सक्ने वातावरण बन्नुपर्छ’ लाहोरमा पत्रकारसँग कुरा गर्दै एहसानले भनेका छन्।
‘आइसिसीले पनि यो सबै विषयमा २०२० को डिसेम्बरसम्म कुरा टुंगिने बताएको थियो, तर त्योअनुसार भएन। त्यसपछि जनवरी र फेब्रुअरीमा पनि मैले यही कुरा आइसिसी प्रमुखसँग राखेको छु। अब मार्चभित्र स्पष्ट निर्णय हुनुपर्छ भनेर भनेको छु। यदि मार्चमा निर्णय नभएमा भारतबाट आयोजना युएईमा सार्नुपर्छ भनेर भनेको छु’ उनले भने।
सन् १९५२–५३ मा पाकिस्तान टिमले दिल्लीमा गएर टेस्ट क्रिकेट खेलेदेखि नै अहिलेसम्म दुईबीचको क्रिकेट सम्बन्ध तलमाथि हुँदै बढिरहेको छ। २००७ मा पाकिस्तानले भारतमा खेल्न आएपछि दुई टिम एक अर्को देशमा गएका छैनन्। अन्तर्राष्ट्रिय प्रतियोगितामा भने दुई टिमबीच बेलाबखत भेट भइरहेको छ। २०१९ को विश्वकपका बेला इंग्ल्यान्डमा पछिल्लोपटक दुई टिम भेटेका थिए।
यसैले खेललाई राजनीतिभन्दा पर राखेर हेर्न पाकिस्तान क्रिकेट बोर्डका प्रमुख एहसानले आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।