काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को संस्करणका लागि बिहीबार खेलाडीको ‘अक्सन’ भएको छ। जसमा सर्वाधिक १६ करोड २५ लाख भारतीय रुपैयाँमा राजस्थान रोयल्सले दक्षिण अफ्रिकी खेलाडी क्रिस मोरिसलाई किन्यो।
मोरिस आइपिएलमा अहिलेसम्मकै सबैभन्दा महँगा खेलाडी बने। यसअघि २०१५ मा भारतीय खेलाडी युवराज सिंहलाई तत्कालीन दिल्ली डेयरडेभिल्सले १६ करोड भारतीय रुपैयाँमा किनेको थियो।
यस्तै १४ करोड २५ लाख भारतीय रुपैयाँमा अस्ट्रेलियन खेलाडी ग्लेन म्याक्सवेललाई रोयल च्यालेन्जर्स बैंग्लोरले किनेको छ।
विश्वमा सर्वाधिक महँगो मानिने आइपिएल क्रिकेटको १४औँ संस्करण आगामी अप्रिलदेखि मेको समयमा हुने तयारी छ। जुन प्रतियोगिता आइपिएलमा आठ टिमले खेल्ने अन्तिम प्रतियोगिता हो। २०२२ देखि भने आइपिएलमा १० टिमको सहभागिता रहनेछ।
यो पटकको अक्सनमा ठूला खेलाडीमाथि बोली लागेको हो। आइपिएलका आठ टिमले ‘रिटेन’ (टिममै राख्नु) का साथै खेलाडी ‘रिलिज’ (टिमबाट बिदा गर्नु) गर्दा राम्रा विदेशी खेलाडीहरु बाहिरिएका थिए।
स्टेभेन स्मिथमाथि दुई करोड भारतीय रुपैयाँबाट सुरु भएको बोलीमा २० लाख बोली बढाएर दिल्ली क्याम्पिटल्सले आफ्नो टिममा भित्र्यायो।
ग्लेन म्याक्सवेल सुरुवाती रकम २ करोड भारतीय रुपैयाँबाट सुरु भएको बोली बढ्दै जाँदा १४ करोड २५ लाखमा रोयल च्यालेन्जर्स बैंग्लोरले किन्यो।
साकिब अल हसनका लागि दुई करोडबाट सुरु भएको बोली कोलकाता नाइट राइडर्सले ३ करोड २० लाख भारतीय रुपैयाँमा किन्यो।
मोइन अली दुई करोड रुपैयाँबाट बढेर ७ करोड भारतीय रुपैयाँमा चेन्नई सुपर किंग्सले किन्यो।
शिवम् दुवे ५० लाख सुरुवाती रकमबाट बढेर ४ करोड ४० लाख रुपैयाँमा राजस्थान रोयल्सले किन्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।