प्रतीकात्मक तस्बिर
काठमाडौं- सरकारले आगामी फागुन २३ गतेदेखि दोस्रो चरणको कोभिड खोप अभियान सञ्चालन गर्ने भएको छ। कोभिडविरुद्दको खोप खरिद प्रक्रिया अगाडि बढाइरहेको सरकारले फागुन २३ गतेदेखि ६० वर्षमाथिका नागरिकलाई खोप लगाउने निर्णय गरेको छ।
स्वास्थ्य मन्त्रालयमा बुधबार बसेको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले २३ फागुनदेखि ६० वर्षमाथिका नागरिकलाई कोभिडविरुद्दको खोप लगाउने निर्णय गरेको हो।
मन्त्रालयका अनुसार ६० वर्षमाथिका करिब २७ लाख ज्येष्ठ नागरिकलाई खोप लगाउने योजना छ।
‘हामीलाई ७ लाख भन्दा बढी ७५ वर्षमाथिका नागरिक छन् भनिएको थियो। त्यो संख्या १४ लाख आसपास छ भनिएको छ। ६० वर्षभन्दा माथि सबै जोड्दा २७ लाख व्यक्ति पुग्छन् भन्ने मन्त्रालयको अनुमान छ,’ मन्त्रालय स्रोतले भन्यो।
नेपालमा माघ १४ गतेदेखि कोभिड विरुद्धको खोप अभियान सञ्चालन भएको थियो।
पहिलो चरणको पहिलो प्राथमिकतामा फ्रन्टलाइर्नस स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स, शबबाहन चालक, कारागारका कर्मचारी, कैदी, सफाईकर्मीलाई खोप लगाइएको थियो।
पहिलो दोस्रो प्राथमिकतामा पत्रकार, राजदुतावासका कर्मचारीहरु र यूएन एजेन्सीमा कार्यरत कर्मचारीलाई खोप लगाइएको थियो।
अहिले सोही चरणमा सरकारी कार्यालयका कर्मचारीहरु र स्थानीय तहका जनप्रतिनिधिलाई खोप लगाइदैँ छ। यो चरणको खोप अभियान फागुन ८ गतेसम्म चल्ने बताइएको छ।
मंगलबार साँझसम्मको तथ्यांक अनुसार हालसम्म २ लाख ६३ हजार ४८ जनाले कोभिड खोप लगाइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।