धनगढी– बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा उनकै विद्यालयका सहपाठी संलग्न रहेका प्रहरीले जनाएको छ।
भागरथीको बलात्कार र हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सनातन धर्म माविको कक्षा ११ मा पढ्ने १६ वर्षीय दिनेश भट्टलाई पक्राउ गरेको छ। उनलाई आज दिउँसो पत्रकार सम्मेलने गरेर सार्वजनिक गरिँदैछ। भागरथी पनि सोही विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन्।
पक्राउ परेका भट्ट भागरथीकै गाउँ चडेपानीका रहेका बैतडी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरू आपसमा नाता पर्ने हुन्। गत माघ २१ गते बुधबार विद्यालय गएकी भागरथीको भोलिपल्ट बिहीबार साँझ विभत्स अवस्थामा शव फेला परेको थियो। शव फेला परेको १३ दिनपछि प्रहरीले हत्यारा पक्राउ गरेको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख, डिआइजी उत्तमराज सुवेदीले दिनेशले भागरथीको बलात्कार र हत्या गरेको स्वीकार गरिसकेको नेपाल लाइभलाई बताए।
घटना घटेको ३ दिनपछि बैतडी पुगेका सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, डीआइजी सुवेदीले धैरै तरिकाबाट अनुसन्धान गर्दै जाँदा हत्यारा पक्राउ गर्न सफल भएको बताए।
हत्यारा पक्राउ नपरेसम्म शव नउठाउने भन्दै आफन्तले शव बुझेका छैनन्। दाहसंस्कार गरिए अपराधी उम्किन्छन् कि भन्ने आशंकाले शव उठाउन नसकिएको मृतकका आफन्तले बताउँदै आएका छन्। भागरथीको शवलाई जिल्ला अस्पताल बैतडीमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।