धनगढी- बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
गत माघ २१ गते, बुधबार विद्यालय गएकी भागरथीको भोलिपल्ट बिहीबार साँझ बिभत्स अवस्थामा शव फेला परेको थियो। शव फेला परेको १३ दिनपछि प्रहरीले हत्यामा संलग्न रहेका व्यक्तिको पहिचान भएको दाबी गरेको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, एसएसपी मुकेश सिंहले भागरथी पढ्ने विद्यालयकै कक्षा ११ मा पढ्ने छात्रले बलात्कार र हत्या आफूले गरेको स्वीकार गरेको नेपाल लाइभलाई बताए।
यो घटनापछि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, डीआइजी उत्तमराज सुवेदी पनि बैतडीमै बसेर अनुसन्धान गरिरहेका छन्। डीआइजी सुवेदीले भने, 'हामी यसको सबै विवरण भोलि बिहान सार्वजनिक गर्छौं।'
हत्यारा पक्राउ नपरेसम्म शव नउठाउने भन्दै आफन्तले शव बुझेका छैनन्। दाहसंस्कार गरिए अपराधी उम्किन्छन् कि भन्ने आशंकाले शव उठाउन नसकिएको मृतकका आफन्तले बताउदै आएका छन्। भागरथीको शवलाई जिल्ला अस्पताल बैतडीमा राखिएको छ।
भागरथी स्थानीय सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।