काठमाडौं- इंग्ल्यान्डसँगको चार टेस्ट खेलको सिरिज अन्तर्गत दोस्रो टेस्टमा भारत ३१७ रनले विजयी भएको छ। पहिलो टेस्टमा २२७ रनले पराजित भएको भारतले दोस्रो टेस्ट चौंथो दिनमा नै सकाएर सिरिजमा फर्किएको हो।
४८२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले दोस्रो इनिङको खेलमा १६४ रन मात्र बनाउन सकेको छ। टस जितेर ब्याटिङ रोजेको भारतले पहिलो इनिङमा ३२९, साथै दोस्रो इनिङमा २८६ रन बनाएको थियो। इंग्ल्यान्डले आफ्नो पहिलो इनिङमा १३४ रन मात्र बनाउन सकेको थियो।
मंगलबार चौंथो दिनको खेल चलिरहँदा भारतले आफ्नो उत्कृष्ट बलिङलाई निरन्तरता दिन सक्यो। दोस्रो इनिङमा भारतका अक्षर पटेलले पाँच, रविचन्द्र आश्विनले तीन साथै कुलदीप यादवले दुई विकेट लिए।
इंग्ल्यान्डका लागि दोस्रो इनिङमा मोइन अलिले सर्वाधिक ४३ रन बनाए। जोय रुटले ३३, रोरे ब्रन्सले २५, डन लोरेन्सले २६ साथै ओले पोपले १२ रन बनाउन सके। भारतको दोस्रो इनिङ ब्याटिङमा सम्हालिएको खेल देखाउँदै आश्विनले शतक बनाएका थिए। जसले टिमको रन थप उकासियो। उनले १४८ बल खेलेर १०६ रन बनाएका थिए।
दुई टेस्टमा एक-एक जितले बाँकी दुई खेल थप रोमाञ्चक हुने भएको छ। तेस्रो टेस्ट खेल फागुन १२ मा सुरु हुनेछ। अन्तिम टेस्ट फागुन २० मा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।