काठमाडौं- इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्ट क्रिकेट खेल घरेलु टिम भारतको जित्ने सम्भावना बलियो बनेको छ। तेस्रो दिनको समाप्तिसम्म ठूलो लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले सस्तैमा तीन विकेट गुमाएपछि भारतको जित्ने सम्भावना बढेको हो।
४८२ रनको चुनौती पछ्याउँदै आफ्नो दोस्रो इनिङ्स थालेको इंग्ल्यान्डले तेस्रो दिनको समाप्तिसम्म तीन विकेटको क्षतिमा ५३ रन बनाएको छ। इंग्ल्यान्डका रोरी बर्नसले २५ रन बनाएर पेभिलियन फर्किदा डोम सिब्ले तीन र ज्याक लिच शून्यमा आउट भए। महत्वपूर्ण तीन विकेट गुमाएसँगै इंग्ल्यान्ड दबाबमा आएको छ। अक्षर पटेलले दुई र रविचन्द्रन आश्विनले एक विकेट लिएका छन्।
यसअघि भारतले आफ्नो दोस्रो इनिङ्समा सबै विकेटको क्षतिमा २८६ रन बनाउँदा इंग्ल्यान्डले ठूलो लक्ष्य पाएको हो। दोस्रो इनिङ्समा भने भारतका अश्विनले शतक बनाए। उनी १०६ रनमा आउट भएका थिए। त्यस्तै, कप्तान विराट कोहलीले ६२ र रोहित शर्माले २६ रन जोडेका थिए। बलिङतर्फ इंग्ल्यान्डका ज्याक लिच र मोइन अलीले समान ४–४ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ थालेको भारतले आफ्नो पहिलो इनिङ्समा ३२९ रन बनाएको थियो। ओपनर रोहित शर्माको शतकमा भारतले मध्यम रन बनाएको थियो। रोहितले शतकसहित १६१ रन बनाएका थिए। त्यस्तै, अजिंक्या राहानेले ६७ र रिषभ पन्तले ५८ रन जोडे। बलिङतर्फ भने इंग्ल्यान्डका मोइन अलीले चार विकेट लिए।
त्यसपछि आफ्नो पहिलो इनिङ्स थालेको इंग्ल्यान्डले खराब प्रदर्शन गर्दै १३४ रन बनाउँदा सबै विकेट गुमाएको थियो। पहिलो इनिङ्समै इंग्ल्यान्ड १९५ रनले पछि परेको थियो। इंग्ल्यान्डका बेन फोक्सले अविजित ४२ रन बनाएपनि अन्य खेलाडी सस्तैमा समेटिएका थिए। बलिङमा अश्विनले पाँच विकेट लिएका थिए।
यसअघि भएको पहिलो टेस्ट खेलमा भने घरेलु टिम भारतलाई इंग्ल्यान्डले २२७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।