काठमाडौं- पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्धको टि–२० क्रिकेट सिरिज पनि जितेको छ। अन्तिम तथा तेस्रो खेलमा चार विकेटको जित निकालेसँगै पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्धको टि–२० क्रिकेट सिरिज २–१ ले जितेको हो।
यसअघि घरेलु टिम पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्धको दुई खेलको टेस्ट क्रिकेटको सिरिज क्लिन स्विप नै गरेको थियो। टेस्ट क्रिकेट सिरिज आफ्नो पोल्टामा पारेको पाकिस्तानले टि–२० क्रिकेट सिरिज पनि जित्न सफल भएको हो।
अन्तिम तथा तेस्रो टि–२० खेलमा पाकिस्तानले १६५ रनको लक्ष्य पाएको थियो। जवाफी ब्याटिङ गरेको पाकिस्तानले १८.४ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेटायो। पाकिस्तानका लागि कप्तान बाबर अजामले ४४, मोहम्मद रिजवानले ४२ रन बनाउँदा हसन अलीले विष्फोटक ब्याटिङ गर्दै सात बलमा अविजित २० रन जोडे। त्यस्तै, मोहम्मद नवाजले अविजित १८, हैदर अलीले १५ र फाहिम अश्राफले १० रन बनाए। बलिङतर्फ दक्षिण टबराज साम्सीले चार विकेट लिए।
लाहोरमा यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १६४ रन बनाएको थियो। दक्षिण अफ्रिकाका डेविड मिलरले ४५ बलमा सात छक्का र पाँच चौका प्रहार गर्दै अविजित ८५ रन बनाए। बलिङतर्फ जाहिद मोहमोदले तीन विकेट लिए।
यसअघि भएको पहिलो खेलमा पाकिस्तानले तीन विकेटले दक्षिण अफ्रिकालाई हराएको थियो। तर, दोस्रो खेलमा भने पाकिस्तान दक्षिण अफ्रिकासँग ६ विकेटले हारेको थियो। यसअघि टेस्ट क्रिकेटको सिरिज पाकिस्तानले २–० ले जित्ने क्रममा दक्षिण अफ्रिकालाई पहिलो खेलमा सात विकेट र दोस्रो खेलमा ९५ रनले हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।