काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग-टु अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज स्थगित भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सिरिज स्थगित भएको जानकारी दिएको हो।
त्रिकोणात्मक सिरिज ओमानमा आउँदो मार्चमा हुने मिति तय थियो। यसअघि पनि कोरोना भाइरस कै कारणले गर्दा सिरिज स्थगित भएको थियो। बढ्दो कोरोनाको प्रभाव, लामो समय क्वारेन्टाइनको प्रावधान र विभिन्न देशहरुबीचको भ्रमणको कारण आधिकारिक रुपमा अर्को सूचना नआएसम्मको लागि त्रिकोणात्मक सिरिज स्थगित गरेको आइसिसीले जनाएको छ।
त्यस्तै, आइसिसीले अप्रिलमा हुने पपुवा न्युगिनी, ओमान र स्कटल्यान्डबीचको सिरिज र मे महिनामा हुने पपुवा न्युगिनी, अमेरिका र नामिबियाबीचको त्रिकोणात्मक सिरिज स्थगित गरेको छ।
क्यानले त्रिकोणात्मक सिरिजलाई मुख्य लक्ष्य बनाएर यसअघि नै पहिलो चरणमा खेलाडी छनोट गरिसकेको थियो। प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शनको आधारमा ३२ खेलाडी छनोट गरेको थियो। अहिले पहिलो चरणमा खेलाडीहरुले त्रिवि क्रिकेट मैदानमा अभ्यास गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।