काठमाडौं- घरेलु टिम पाकिस्तानले टि–२० क्रिकेट सिरिजको पहिलो खेलमा जित निकालेको छ। पाकिस्तानले दक्षिण अफ्रिकालाई तीन रनले हराएको हो।
लाहोरमा १७० रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६६ रन बनाएपछि पाकिस्तानले रोमाञ्चक रुपमा खेल जितेको हो। दक्षिण अफ्रिकाका लागि रिजा हेनड्रिक्सले अर्धशतकसहित ५४ र जनेमन मलानले ४४ रन बनाए। बलिङतर्फ पाकिस्तान हरिस राउफ र उस्मान कादिरले समान २–२ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६९ रन बनाएको थियो। पाकिस्तानको मध्यम रनमा ओपनर मोहम्मद रिजवानले शतक बनाए। पहिलो ओभरको दोस्रो बलमा कप्तान बाबर अजाम शुन्यमै रनआउट भएपछि पाकिस्तान दबाबमा आएको थियो। तर पाकिस्तानका लागि रिजवानले न्याय दिलाए। उनले ६४ बलमा १०४ रन बनाउँदै अविजित रहे।
शतक बनाउने क्रममा उनले सात छक्का र ६ चौका प्रहार गरेका थिए। टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा रिजवानको यो पहिलो शतक हो। त्यस्तै, पाकिस्तानका लागि हैदर अलीले २१, हुसेन तलातले १५ र खुश्दिल शाहले १२ रन जोडे।
यो जितसँगै तीन खेलको टि–२० क्रिकेट सिरिजमा पाकिस्तानले १–० को अग्रता बनाएको छ। पाकिस्तानले अब दोस्रो खेल दक्षिण अफ्रिकासँग फेब्रुअरी १३ मा प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, १४ तारिखमा पाकिस्तान र दक्षिण अफ्रिकाको तेस्रो खेल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।