काठमाडौं- औषधि व्यवस्था विभागमा कोरोना भाइरस विरुद्धको खोप उत्पादन गरिरहेका तीन देशका कम्पनीले खोप दर्ताका लागि तयारी अघि बढाइएको छ। भारत, चीन र रुसका कम्पनीले विकास गरेका कोभिडविरुद्धका खोप नेपालमा दर्ता गर्न निवेदन आइसकेको विभागले जानकारी दिएको छ। ती निवेदमाथि अध्ययन भइरहेको विभागको भनाइ छ।
विभागका अनुसार एक कम्पनीको दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको छ भने दुई देशका कम्पनीसँग थप कागजात माग गरिएको छ।
औषधि व्यवस्था विभागमा चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको खोप दर्ताका लागि प्रक्रिया अन्तिम चरणमा पुगेको हो। ‘कम्पनीले सबै डकुमेन्ट बुझाइसकेको छ। तेस्रो चरणको क्लिनिकल ट्रायलको डकुमेन्ट मागेका छौँ। छिट्टै आउँछ होला,’ विभाग स्रोतले नेपाल लाइभसँग भन्यो।
त्यसैगरी, रुसले विकास गरेको 'स्पुतनिक-भी' खोप दर्ताका लागि विभागमा निवेदन दिएको छ। भारतीय कम्पनी भारत बायोटेकले उत्पादन गरेको कोभ्याक्सिनका लागि विभागमा निवेदन दर्ता गराएको छ।
विभागका अनुसार भारत बायोटेकले कोभिसिल्ड दर्ता हुनुअघि नै निवेदन दर्ता गराएको थियो। तर आवश्यक कागजात नबुझाएका कारण कोभ्याक्सिनको दर्ता प्रक्रिया अगाडि बढ्न सकेको छैन। चीन र रुसको कम्पनीबाटै र भारत बायाेटेकले नेपालस्थित एजेन्टमार्फत् दर्ताका लागि निवेदन दिएका हुन्।
विभागले पुस २९ गते सूचना जारी गर्दै कोभिड-१९ को खोप प्राप्त गर्न चाहने उत्पादक वा आधिकारिक आयातकर्ताले उत्पादकका तर्फबाट आवश्यक कागजात सहितको विवरण खुलाई आपतकालीन प्रयोगको दर्ता अनुमतिका लागि आवेदन पेस गर्न सुचित गरिसेकेको छ।
विभागले कोभिड-१९ खोपको आपत्कालीन प्रयोगका लागि दर्ता आवेदन दिँदा नेपाल सरकारबाट स्वीकृत भएको औषधि वा ‘खोपको आपत्कालीन प्रयोग सम्बन्धी संहिता, २०७७ र कोभिड-१९ विरुद्ध प्रयोग हुने खोपको प्राप्ति र प्रयोग सम्बन्धी’ अवधारणपत्रलाई आधार मान्ने जनाएको छ।
सरकारले कोभिड विरुद्धको औषधि तथा खोपको आपत्कालीन प्रयोगका लागि औषधि ऐन, २०३५ को (तेस्रो संशोधन) अध्यादेश जारी गरिसकेको छ।
उक्त ऐनको दफा ९ (क) मा कोभिड महामारीको रुपमा फैलिएको संक्रामक रोगको रोकथाम, नियन्त्रण वा निर्मूल गर्न विश्व स्वास्थ्य संगठनमा सूचीकृत भएका वा सम्बन्धित मुलुकको नियामक निकायले दर्ता गरेका औषधि वा त्यस्ता नियामक निकायले अनुमति प्रदान गरेका खोपलाई दर्ता गर्ने व्यवस्था गरिएको छ।
औषधि व्यवस्था विभागमा हालसम्म एउटा मात्र कोभिसिल्ड खोप दर्ता भएको छ। यो खोप अक्सफोर्ड एस्ट्राजेनिका र भारतीय खोप उत्पादक कम्पनी सेरम इन्स्च्यिुटले उत्पादन गरेको हो।
भारतले उक्त खोपको १० लाख डोज नेपाललाई अनुदानमा उपलब्ध गराइसकेको छ। नेपालमा माघ १४ गतेबाट खोप अभियान सुरु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।