काठमाडौं- इंग्ल्याण्डसँगको चार टेस्ट खेलको सिरिज अन्तर्गत पहिलो टेस्ट क्रिकेटमा भारत २२७ रनले पराजित भएको छ। ४२० रनको लक्ष्य पाएर दोस्रो इनिङको ब्याटिङमा गएको भारतले १९२ रन मात्र बनाउन सकेको हो।
दोस्रो इनिङमा भारतका शुभमन गिलले ८३ बलमा ५० रन साथै कप्तान विराट कोहलीले १०४ बलमा ७२ रन बनाए। त्यसबाहेक रोहित शर्माले २० बलमा १२, चेतेश्वर पुजाराले ३८ बलमा १५, रिसब पन्तले १९ बलमा ११ रन बनाए।
इंग्ल्यान्डका ज्याक लिचले चार, जेम्स एन्डरसनले तीन साथै जोफ्रा आर्चर, डम बेस र बेन स्टोक्सले एक–एक विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ रोजेको इंग्ल्यान्डले आफ्नो पहिलो इनिङमा ५७८ रन साथै दोस्रो इनिङमा १७८ रन बनाएको थियो। भारतले आफ्नो पहिलो इनिङमा ३३७ रन बनाउन सकेको थियो। प्लेयर अफ दि म्याच जोय रुट भए। पहिलो इनिङमा उनले २१८ रन बनाएका थिए। उनले दोस्रो इनिङमा ४० रन बनाएका थिए।
सिरिज अन्तर्गत दोस्रो टेस्ट खेल आउने शनिबार सुरु हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।