काठमाडौं- घरेलु टिम पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्धको दुई खेलको टेस्ट क्रिकेट सिरिज 'क्लिन स्विप' गरेको छ। सोमबार सम्पन्न दोस्रो टेस्ट खेलमा दक्षिण अफ्रिकालाई ९५ रनले पराजित गर्दै पाकिस्तानले सिरिज २-० ले जितेको हो।
दोस्रो खेलमा जित निकाल्दै सिरिज बराबरीमा टुंग्याउन दक्षिण अफ्रिकालाई पाकिस्तानले ३७० रनको लक्ष्य प्रस्तुत गरेको थियो। तर खेलको अन्तिम दिन सोमबार दक्षिण अफ्रिकाले सबै विकेटको क्षतिमा २७४ रन मात्रै बनाउन सक्यो।
दक्षिण अफ्रिकाका लागि ऐडन माक्रामले शतकसहित १०८ रन बनाएपनि टिमको हार जोगाउन सकेनन्। टेन्डा बाभुमाले ६१ र रासी भान डेर डुसेनले ४८ रन बनाउन बाहेक अन्य खेलाडीले उच्च रन बनाउन सकेनन्।
पाकिस्तानलाई जिताउन बलिङतर्फ हसन अली र शाहिन शाह अफ्रिदीले किफायती बलिङ गरे। हसनले पाँच विकेट लिँदा शाहिनको नाममा चार विकेट रह्यो।
यसअघि रावलपिन्डी क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको घरेलु टिम पाकिस्तानले आफ्नो पहिलो इनिङ्समा २७२ रन बनाउँदा सबै विकेट गुमाएको थियो। पाकिस्तानका फाहिम अश्राफले अविजित ७८ रन बनाउँदा कप्तान बाबर अजामले ७७ रनको योगदान दिएका थिए। बलिङतर्फ एनरिज नोट्जेले पाँच विकेट लिए।
दक्षिण अफ्रिकाले आफ्नो पहिलो इनिङ्समा २०१ रन बनाउँदा सबै विकेट गुमायो। योसँगै दक्षिण अफ्रिका पहिलो इनिङ्समै ७१ रनले पछि परेको थियो। दक्षिण अफ्रिकाका लागि टेम्बाले ४४, वियान मुल्डरले ३३ र ऐडन माक्रामले ३२ रन बनाएका थिए। बलिङतर्फ पाकिस्तानका हसन अलीले पाँच विकेट लिएका थिए।
त्यसपछि आफ्नो दोस्रो इनिङ्स थालेको पाकिस्तानले २९८ रनमा सबै विकेट गुमाउँदा दक्षिण अफ्रिकाले ३७० रनको लक्ष्य पाएको थियो। दोस्रो इनिङ्समा पाकिस्तानका मोहम्मद रिजवानले शतकसहित ११५ रन बनाए। त्यस्तै, नाउमान अलीले ४५ रन बनाएका थिए। बलिङतर्फ जर्ज लिन्डेले पाँच विकेट लिए।
यसअघि भएको पहिलो टेस्ट क्रिकेट खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई सात विकेटले हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।