काठमाडौं– नेपाली युवा क्रिकेटर कुशल मल्लले टि–१० क्रिकेट लिगमा १८ रन बनाएका छन्। टि–१० लिगको तेस्रो स्थानको लागि क्वालन्डर्सविरुद्ध टिम अबुधावीका कुशलले अन्तिम खेलमा डेब्यु गरेका हुन्।
आफ्नो डेब्यु खेलमा कुशलले राम्रो खेले। तेस्रो स्थानमा ब्याटिङ गर्न आएका कुशलले १२ बलको सामना गर्दै एक चौका र एक छक्कासहित १८ रन बनाए। तर कुशल यसअघिका खेलहरुमा भने बेन्चमै रहेका थिए। अन्तिम खेलमा भने कुशललाई टिम अबुधावीले मौका दिएको थियो।
कुशललाई खेलाएको खेलमा टिम अबुधावीले क्वालन्डर्सलाई २१ रनले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ। नाजिबउल्लाह जाड्रानले १६ बलमा अविजित ४५, पाउल स्टर्लिङले २६ र लियोनार्दो जुलियनको १९ रनको योगदानमा टिम अबुधावीले ६ विकेटको क्षतिमा १२४ रन बनाएको थियो। १२५ रनको विजयी लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको क्वालन्डर्सले १० ओभरमा पाँच विकेटको क्षतिमा १०३ रन मात्रै बनाउन सक्यो।
यो पटकको टि–१० लिगमा नेपालबाट तीन खेलाडीले खेले। सोमपाल कामीले मरठा अरवियन्सबाट खेल्दै ६ खेलबाट तीन विकेट लिए। त्यस्तै, पुने डेभिल्सबाट खेलेका करणले टि–१० लिगमा एक विकेट लिए। सोमपाल र करणको प्रदर्शन भने उत्कृष्ट रहेन। सोमपालले डिकन ग्लाडिएटर्सविरुद्ध उत्कृष्ट बलिङ गर्दै दुई ओभरमा १२ रन खर्चिएर दुई विकेट लिएका थिए। अर्को विकेट भने क्वालन्डर्सविरुद्धको खेलमा सोमपालले लिएका थिए। त्यस्तै, करणले भने एक विकेट लिने क्रममा ‘युनिभर्सल बोस’ क्रिस गेललाई बोल्ड आउट गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।