काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षका अध्यक्षद्वयले बैतडीकी १७ वर्षीया किशोरीको बलात्कार तथा हत्या घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन्।
अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले शनिबार विज्ञप्ति जारी गर्दै बैतडीको दोगडाकेदार गाउँपालिका–७ कि १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गर्नेलाई कारबाही गर्न माग गरेका हुन्।
माघ २२ गते विद्यालयबाट घर फर्किँदै गरेकी उनीमाथि भएको पाशविक र अमानवीय घटनाको भर्त्सना गर्दै उनीहरूले विगतमा निर्मला पन्तको घटनामा जस्तै गैरजिम्मेवार नबन्न सरकारसँग माग गरेका छन्।
‘डेढ वर्षअघि निर्मला पन्तको हत्या र त्यसमा न्याय नपाएको अवस्थाले सिर्जना गरेको आमजनताको आक्रोश सेलाउन नपाउँदै बैतडीमा घटेको समान प्रकृतिको घटनाले आमनागरिकलाई शान्ति, सुरक्षा दिने राज्यसंयन्त्र असफल भएको तथ्यलाई नै प्रमाणित गरेको छ’, विज्ञप्तिमा भनिएको छ।
सिर्कोटस्थित सनातल धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा पढ्ने भागरथी बुधबार बिहान १० बजे विद्यालय गएकी थिइन्। तर, साँझसम्म घर नफर्केपछि उनको खोजी तीब्र पारिएको थियो। बिहीबार (माघ २२ गते) बेलुका उनको शव स्थानीय लबलेक सामुदायिक वनको झाडीमा भेटिएको थियो।
बलात्कारपछि विभत्स तवरले हत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ। घटनाको प्रकृतिले पनि त्यही देखाएको प्रहरीले जनाएको छ। यद्यपि, भेजाइनल स्वाबलगायत आवश्यक नमुना परीक्षणको नतिजा आएपछि मात्रै वास्तविकता खुल्ने प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धानको लागि सीबीआईको टोली समेत परिचालन गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले एसएसपी जनकराज पाण्डेको नेतृत्वमा अर्को टोली समेत खटाएर घटाको सुक्ष्म अनुसन्धान गरिरहेको छ। घटनास्थलमा तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको प्रहरीले जनाएको छ। भागरथीको शव पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।