काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को संस्करणमा नेपालबाट आठ खेलाडीले अक्सनमा नाम दर्ता गराएका छन्। जसमा सन्दीप लामिछाने‚ बिनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, सरोद भेषावकर, अभिनाश बोहरा र दिपेन्द्रसिंह ऐरी रहेका छन्।
फेब्रुअरी १८ मा हुने आइपिएलको अक्सनमा विश्वभरबाट एक हजार ९७ खेलाडीले नाम दर्ता गराएका छन्। जसमा नेपालबाट आठ खेलाडी परेका हुन्।
अक्सनमा भारतका ८१४, वेस्ट इन्डिजबाट ५६, अस्ट्रेलियाबाट ४२, दक्षिण अफ्रिकाबाट ३८, श्रीलंकाबाट ३१, अफगानिस्तानबाट ३०, न्यूजिल्यान्डबाट २९, इंग्ल्यान्डबाट २१, युएईबाट ९, स्कटल्यान्डबाट सात, बंगलादेशबाट पाँच, आयरल्यान्ड, जिम्बाब्वे र अमेरिकाबाट समान २–२ तथा नेदरल्यान्डबाट एक खेलाडी रहेका छन्।
एउटा फ्रेन्चाइज टिमले बढिमा २५ खेलाडी आफ्नो टिममा राख्न पाउँछन्। तर, यो अक्सनबाट भने ६१ खेलाडीलाई आठ फ्रेन्चाइज टिमले अनुबन्धित गर्नेछ। जसमा २२ विदेशी खेलाडी अक्सनबाट छानिने छन्।
२०१७ मा तत्कालीन दिल्ली डेयरडेभिल्सले नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई २० लाख भारुमा आफ्नो टिममा अनुबन्धित गरेको थियो। लगातार दुई संस्करण सन्दीपलाई रिटेन गरेको अहिलेको दिल्ली क्यापिटल्सले २०२१ को संस्करणको आइपिएललाई भने रिलिज गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।