काठमाडौं- वेष्ट इन्डिजविरुद्ध घरेलु टिम बंगलादेशले टेस्ट क्रिकेट सिरिजको पहिलो खेलमा उच्च रन बनाएको छ। बंगलादेशले वेस्ट इन्डिजविरुद्ध आफ्नो पहिलो इनिङ्समा ४३० रन बनाएको हो।
टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको बंगलादेशले आफ्नो पहिलो इनिङ्समै उच्च रन बनाएको हो। बंगलादेशका लागि मेहदी हसन मिराजले शतक बनाए। आठौं नम्बरमा ब्याटिङ गर्न आएका उनले १६८ बलमा १३ चौका प्रहार गर्दै १०३ रन बनाएका थिए।
त्यस्तै, प्रतिबन्धपछि पहिलो पटक टेस्ट क्रिकेट खेलेका सकिब अल हसनले ६८, शादमान इस्लामले ५९, लिटन दास र मुस्फिजुर रहिमले समान ३८–३८ रन बनाए। बलिङतर्फ वेष्ट इन्डिजका जोमेल वारिकेनले चार विकेट लिए।
दोस्रो दिन नै आफ्नो पहिलो इनिङ्स थालेको वेष्ट इन्डिजले भने खराब शुरूआत गरेको छ। दोस्रो दिनको समाप्तिसम्म वेष्ट इन्डिजले ७५ रन बनाउँदा दुई विकेट गुमाएको छ। ११ रन हुँदा पहिलो विकेटको रूपमा जोहन क्याम्पबेललाई तीन रनमा गुमाएको वेष्ट इन्डिजले २२ रन हुँदा दोस्रो विकेटको रूपमा सायन मोसेलेलाई व्यक्तिगत दुई रनमा गुमाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।