काठमाडौं- नेपालका युवा स्टार सन्दीप लामिछानेले इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्। कोरोना भाइरसको महामारीका कारण करिब एक वर्ष पर धकेलिएको प्रतियोगिता सन्दीपले खेल्ने भएका हुन्।
यसअघि सन्दीपलाई ओभल इन्भिन्सिबल्सले रिटेन गरेपछि ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्ने भएका हुन्। ओभलले वेस्ट इन्डिजका अलराउन्डर सुनील नारिन र नेपालका स्पिनर सन्दीप लामिछानेलाई रिटेन गर्दा वेस्ट इन्डिजकै अलराउन्डर फावियन एलेनलाई भने रिलिज गरेको छ।
ओभल टिममा सन्दीप र सुनिलसँगै रिटेन हुने खेलाडीमा रोरी बुर्नस, साम कुरन, टोम कुरन, रिस टोप्ले, एलेक्लस ब्लाके, जासन रोय, नाथन सोटर, साम विलिङ्स, लाउरी इभान्स, विल ज्याक्स रहेका छन्।
‘द हन्ड्रेड’ क्रिकेटको ड्राफ्ट यही फेब्रुअरी २२ तारिखमा हुँदैछ। २०२० मै पहिलो पटक सुरु हुन लागेको ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता कोरोना भाइरसको कारण एक वर्ष सरेको हो। नेपालका सन्दीपलाई ओभल टिमले एक लाख पाउन्डमा आफ्नो टिममा अनुबन्धित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।