काठमाडौं- अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको यही फेब्रुअरी र मार्चमा हुने टेस्ट क्रिकेट सिरिज स्थगित भएको छ। कोरोना भाइरसको कारण देखाउँदै अस्ट्रेलिया क्रिकेट टिमले दक्षिण अफ्रिका भ्रमण रद्द गरेको हो।
अस्ट्रेलियाले दक्षिण अफ्रिकासँग उसैको भूमिमा तीन खेलको टेस्ट क्रिकेट सिरिज खेल्ने तालिका थियो। तर, दक्षिण अफ्रिकामा कोरोना भाइरसको संक्रमण झनै बढ्दै गएको भन्दै क्रिकेट अस्ट्रेलियाले भ्रमण रद्द गरेको हो। अस्ट्रेलियाले भ्रमण रद्द गर्नुको विकल्प नभएको भनेको छ।
‘अहिले दक्षिण अफ्रिकामा कोरोनाको संक्रमण बढिरहेको छ। यस्तो बेला भ्रमण रद्द गर्नुको विकल्प छैन’, क्रिकेट अस्ट्रेलियाले भनेको छ। अफ्रिका महादेशमा कोरोना भाइरसको सबैभन्दा बढी जोखिम दक्षिण अफ्रिकामा रहेको छ।
दक्षिण अफ्रिकामा करिब १४ लाख भन्दा बढी संक्रमित भइसकेका छन् भने ४४ हजारभन्दा बढीको ज्यान गइसकेको छ। यसअघि क्रिकेट अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको टेस्ट क्रिकेट सिरिजको लागि १९ सदस्यीय खेलाडीको घोषणा गरिसकेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।