काठमाडौं- ‘काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिता’ का लागि नेपाल क्रिकेट संघ (क्यान) र काठमाडौं महानगरपालिकाबीच सम्झौता भएको छ।
मंगलबार भएको सम्झौता पत्रमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले हस्ताक्षर गरे। सम्झौताअनुसार काठमाडौं महानगरले क्यानलाई ५० लाख नगद दिनेछ।
महानगरले दिने भनिएको ५० लाख एक वर्षको लागि मात्रै भएको क्यानका अध्यक्ष चन्दले बताए। उनले भने, ‘सम्झौता एक वर्षको लागि भएको छ। तर आगामी वर्षमा पनि निरन्तर सहकार्य गर्ने भन्ने प्रतिबद्धता भने भएको छ।’
यही वर्षको चैत मसान्तभित्र प्रतियोगिता सञ्चालन गर्ने क्यानले जानकारी दिएको छ। एकदिवसीय फम्यार्टमा हुने प्रतियोगितामा कति टिमको सहभागिता रहने भन्ने अहिले नै टुंगो लागिसकेको छैन।
‘अहिले हामी गृहकार्य गरिरहेका छौं। कति टिमको सहभागिता रहने‚ कति दिनसम्म चल्ने भन्ने कुराको प्राविधिक पक्षमा छलफल गरिरहेका छौं। छिट्टै प्रतियोगिताको बारेमा सबै जानकारी दिनेछौं’, अध्यक्ष चन्दले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।