काठमाडौं- त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। शनिबार भएको फाइनल खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पराजित गर्दै आर्मीले उपाधि जितेको हो। त्रिवि क्रिकेट मैदानमा आर्मीले एपिएफलाई ३३ रनले पराजित गर्यो।
२१२ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको एपिएफले ४१.३ ओभरमा सबै विकेटको क्षतिमा १७८ रन मात्रै बनाउन सक्यो। एपिएफका लागि आशिफ शेखले अर्धशतक बनाएपनि अन्य खेलाडी सस्तैमा समेटिँदा हार ब्यहोरेको हो। आशिफले ७१ बलमा आठ चौका र एक छक्का प्रहार गर्दै ६१ रन बनाए। त्यस्तै, सन्दीप जोराले २९, शंकर रानाले २१, सुमित महर्जनले १९ र सुवास खकुरेलले १४ रन बनाए।
बलिङतर्फ आर्मीका विक्रम सोब, जितेन्द्र मुखिया र शाहब आलमले समान ३–३ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २११ रन बनायो। आर्मीका हरि चौहानले अर्धशतक बनाए। उनले १०२ बलमा ६ चौका प्रहार गर्दै ५८ रन बनाए।
त्यस्तै, आर्मीका लागि राजेश पुलामी मगरले २८, शाहब आलमले अविजित २५, लोकेश बमले १५, सुसन भारी र रोहित कुमार पौडेलले समान १३-१३ रन बनाए। बलिङतर्फ एपिएफका अविनाश बोहराले उत्कृष्ट बलिङ गरे। उनले १० ओभरमा दुई मेडनसहित २५ रन खर्चिर्दै चार विकेट लिए।
त्यस्तै, किशोर महतोले १० ओभरमा ५३ रन खर्चिएर दुई विकेट लिए। कप्तान शरद भेषवाकर, कमलसिंह ऐरी र भुवन कार्कीले समान १–१ विकेट लिए। विजेता बनेको आर्मीले ट्रफिसँगै १० लाख नगद प्राप्त गरेको छ। त्यस्तै, उपविजेतामा चित्त बुझाएको एपिएफले पाँच लाख पाएको छ।
यसअघि विजेताले २० लाख र उपविजेताले १० लाख पाउँदै आएको थियो। तर, यो पटकदेखि भने प्रधानमन्त्री कपको पुरस्कार राशि नेपाल क्रिकेट संघ (क्यान) ले आधा नै घटाएको हो।
सन् २०१७ मा भएको पहिलो संस्करणको उपाधि भने नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले संयुक्त रुपमा जितेका थिए। फाइनल खेलमा वर्षा बाधक बनेपछि राखेपले संयुक्तरुपमा विजेताको घोषणा गरेको थियो।
२०१८ मा एपिएफले उपाधि जित्दा आर्मी भने उविजेता भएको थियो। २०१९ को तेस्रो संस्करणमा भने पुलिसले उपाधि जित्दा आर्मी उपविजेता बनेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।