काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिनिधि सभा विघटन नभएको तर केपी शर्मा ओलीको सरकार भने विघटन भएको बताएका छन्। नेकपाको प्रचण्डमाधव पक्षले धनगढीमा आयोजना गरेको विरोध सभामा बोल्दै उनले ओली सरकारको वैधानिकता नरहेको तर प्रतिनिधि सभा ज्युँदै भएको बताएका हुन्।
'ओलीले संविधान कुल्चिँदा हामीले मान्नुपर्छ भन्ने छ र? केपीले मर्यो भनेका छन् जालझेल गरेर। तर हामी ज्युँदै छौँ। प्रतिनिधि सभा विघटन भएको छैन। केपी सरकार विघटन भयो,' उनले भने, 'ओली आफैले आफैलाई खलनायकका रूपमा स्थापित गर्नुभएको छ। यो भन्नुपर्दा म दुखी छु।'
प्रधानमन्त्री ओलीले गैरसंवैधानिक भएको उनको भनाइ थियो। 'केपी ओलीले विघटन गरे। उनले गल्ती गरे। संविधानले उनलाई त्यस्तो कुनै अधिकार दिएको छैन,' उनले भने, 'संविधानअनुसार प्रधानमन्त्रीले ५ वर्षसम्म विघटन गर्न नपाउने व्यवस्था संविधानमा छ।' ओलीले संसद् मर्यो भनेर घोषणा गरेको तर आफूहरू नमरेको रहेको उनको भनाइ छ। 'संविधानले परिकल्पना नगरेको र संविधानअनुसार विघटन पनि भएको छैन। त्यसकारण पनि हामी ज्युँदै छौँ। हामी संविधानअनुसार चल्ने हो,' उनले भने।
अदालतले संविधानको मर्मअनुसार नै फैसला गर्ने उनको भनाइ छ। 'यदि सर्वोच्चमा यो मुद्दा हुँदैनथ्यो भने सदन बोलाउँथ्यौँ। ओलीलाई कारबाही गर्ने थियौँ। त्यहाँका दुई तिहाइ सदस्यले ओलीको कदमले असंवैधानिक भनेका छन्। कांग्रेस र राजपा पनि त्यहीँ छन्,' उनले भने। संसद्को दुई तिहाइ बहुमतले ओलीलाई कारबाही गर्न सक्ने उनको विश्वास थियो। तर मुद्दा अदालतमा भएकाले त्यसो गर्न नसकिएको उनले बताए।
ओलीले संविधान मात्र नभएर लोकतन्त्र र गणतन्त्र पनि कुल्चिएका आरोप लगाए। 'कुनै पनि हालतमा यसलाई सफल हुन दिइने छैन,' उनले भने, 'अढाइ सय वर्ष पुरानो राजतन्त्र परास्त गर्यौँ। २२ सय वर्ष राजतन्त्रात्मक व्यवस्था बदलेर गणतन्त्रमा पुर्यायौँ। ओलीजस्ता सामन्तका एजेन्टलाई ३ महिनाभित्र परास्त गरी विकासको युगतिर जानु छ।'
सुदूरपश्चिमलाई सामन्ती व्यवस्थाले जहिल्यै पनि विभेद गरेको उनको दाबी थियो। सुदूरपश्चिममा पूर्वाधार विकासमा आफूले जोड दिएको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।