काठमाडौं- प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेटको फाइनलमा आर्मीले एपिएफ क्लबलाई २१२ रनको लक्ष्य पेश गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २११ रन बनायो।
उपाधिका लागि भइरहेको फाइनल खेलमा आर्मीले एपिएफविरुद्ध ठूलो स्कोर बनाउन सकेन। आर्मीका हरि चौहानले अर्धशतक बनाए। उनले १०२ बलमा ६ चौका प्रहार गर्दै ५८ रन बनाए। त्यस्तै, आर्मीका लागि राजेश पुलामी मगरले २८, शाहब आलमले अविजित २५, लोकेश बमले १५, सुसन भारी र रोहित कुमार पौडेलले समान १३–१३ रन बनाए।
बलिङतर्फ एपिएफका अविनाश बोहराले उत्कृष्ट बलिङ गरे। उनले १० ओभरमा दुई मेडनसहित २५ रन खर्चिर्दै चार विकेट लिए। त्यस्तै, किशोर महतोले १० ओभरमा ५३ रन खर्चिएर दुई विकेट लिए। कप्तान शरद भेषवाकर, कमलसिंह ऐरी र भुवन कार्कीले समान १–१ विकेट लिए।
सन् २०१७ मा भएको पहिलो संस्करणको उपाधि भने नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले संयुक्त रुपमा जितेका थिए। फाइनल खेलमा वर्षा बाधक बनेपछि राखेपले संयुक्तरुपमा विजेताको घोषणा गरेको थियो।
२०१८ मा एपिएफले उपाधि जित्दा आर्मी भने उविजेता भएको थियो। २०१९ को तेस्रो संस्करणमा भने पुलिसले उपाधि जित्यो।
यो पटकदेखि भने प्रधानमन्त्री कपको पुरस्कार राशि नेपाल क्रिकेट संघ (क्यान) ले घटाएको छ। विगतका तीन संस्करणमा विजेताले २० लाख र उविजेताले १० लाख पाएका थिए। तर, यो पटक भने क्यानले पुरस्कार राशि आधा घटाउँदै विजेतालाई १० लाख र उविजेतालाई ५ लाख दिने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।