काठमाडौं- त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बागमती प्रदेशलाई २३० रनको लक्ष्य पेश गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा २२९ रन बनाएपछि बागमती प्रदेशले मध्यम लक्ष्य पाएको हो।
आर्मीका राजेश पुलामी मगरले अर्धशतक बनाए। राजेशले ९१ बलमा चार चौका र दुई छक्का प्रहार गर्दै ६५ रन बनाए। त्यस्तै, भीम सार्कीले ४०, विक्रम सोबले ३५, लोकेश बमले २३ र सुसन भारीले १६ रन बनाए। यसअघि सुरुवातमा भने आर्मीले खराब खेलेको थियो।
पाँच रन हुँदा अनिल मण्डललाई दुई रनमा गुमाएको आर्मीको पाँच रन हुँदा नै रोहितकुमार पौडेल शून्यमा आउट भए। त्यस्तै, १७ रन हुँदा तेस्रो विकेटको रुपमा हरि चौहान आउट भएपछि आर्मी दबाबमा आएको थियो। तर, भीम र लोकेशले टिमलाई सम्हालेका थिए।
बलिङतर्फ बागमती प्रदेशका गौतम केसीले पाँच विकेट लिए। उनले १० ओभरमा एक मेडनसहित ६१ रन खर्चिएर पाँच विकेट लिएका थिए। आर्मी र बागमतीबीचको विजेताले फाइनलमा एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल शनिबार हुनेछ।
बुधबार (हिजो) भएको पहिलो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबलाई ३० रनले पराजित गर्दै एपीएफ फाइनलमा पुगिसकेको छ। प्रतियोगिताको विजेताले १० लाख रूपैयाँ नगद पाउने छ। त्यस्तै, उपविजेताले पाँच लाख रूपैयाँ पाउनेछ।
यसअघिसम्मको तीन संस्करणमा प्रधानमन्त्री कपको विजेताले २० लाख र उपविजेताले १० लाख पाउँदै आएको थिए। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को निलम्बनबाट फुकुवा भएर आएपछि चौंथो संस्करणदेखि प्रधानमन्त्री कपको आयोजना गर्न पाएको नेपाल क्रिकेट संघ (क्यान)ले पुरस्कार राशी आधा घटाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।