काठमाडौं- प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा विभागीय टीम त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशबीच प्रतिस्पर्धा भइरहेको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर आर्मीले ब्याटिङ गरिरहेको छ। आर्मीले शुरूआतमै अनिल मण्डल र रोहित कुमार पौडेललाई गुमाएको छ। अनिल दुई रनमा आउट हुँदा रोहित शून्य रनमै पेभिलियन फर्किए।
दुवै टीम जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा छ। आर्मी र बागमतीबीचको विजेताले फाइनलमा एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल शनिबार हुनेछ।
बुधबार (हिजो) भएको पहिलो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबलाई ३० रनले पराजित गर्दै एपीएफ फाइनलमा पुगिसकेको छ। प्रतियोगिताको विजेताले १० लाख रूपैयाँ नगद पाउने छ।
त्यस्तै, उपविजेताले पाँच लाख रूपैयाँ पाउनेछ। यसअघिसम्मको तीन संस्करणमा प्रधानमन्त्री कपको विजेताले २० लाख र उपविजेताले १० लाख पाउँदै आएको थिए।
तर, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को निलम्बनबाट फुकुवा भएर आएपछि चौंथो संस्करणदेखि प्रधानमन्त्री कपको आयोजना गर्न पाएको नेपाल क्रिकेट संघ (क्यान)ले पुरस्कार राशी आधा घटाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।