काठमाडौं- आजदेखि नेपालमा कोभिड-१९ विरुद्धको खोप अभियान सुरु भएको छ। यही क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा खोप लगाएका चिकित्सक के भन्छन् त? यस्तो छ उनीहरुको अनुभव:
प्राडा प्रताप नारायण प्रसाद
महाराजगञ्ज क्याम्पस प्रमुख
खोप लगाउनुअघि पनि खोपप्रति सकारात्मक सोच नै थियो। खोप लगाएर नराम्रो हुँदैन भन्ने नै लागेको थियो।
तर, मिडियामा आएका केही कुराले अलिकति तनाव थियो। भारतबाट आएका केही खबरले पनि तनाव बनाएको थियो। तर अहिले ढुक्क छु। सुरक्षित भएको अनुभव गरेको छु। केही रिक्यासन देखिन्छ कि भन्ने लागेको थियो। खोप लगाएपछि भने ढुक्क छु। तपाईंहरु पनि नडराई लगाउनुहोस्।
खोप लगाएपछि केही स्वास्थ्यकर्मीमा रिक्यासन आउँछ भनेर नडराउनुहोस्।
मेरो छोरी लण्डनमा बस्छिन्। उनले पनि खोप लगाइसकेकी छिन्। उनलाई खोप लगाएपछि केही रियाक्सन देखिएको थियो। अस्पताल भर्ना भइन्। अहिले उनी ठिक छिन्। त्यसैले सबलाई खोप लगाउनुपर्छ भन्न चाहन्छु।
प्राडा योगेन्द्रमान शाक्य
इमर्जेन्सी विभागका प्रमुख
म आफैं पनि इमर्जेन्सी विभागका प्रमुख भएकाले खोप लगाएर केही भयो भने आउने हामीकहाँ हो।
खोप लगाएर केही समस्या छैन। यसबारे मेरो विभागका सबैलाई केही समस्या भएमा तुरुन्त रिपोर्ट गर्नु र रजिस्टर गर्नु भनेर हिजो राति ११ बजेसम्म छलफल गरी एलर्ट गरेका थियौं।
हरेक खोपको केही न केही साइड इफेक्ट हुन्छ नै। खोप लगाएर केही रियाक्सन भएन भने त्यो त पानी खन्याएजस्तै भयो। त्यसलाई हामी प्लासिबो भन्छौं। यो खोपको पनि केही न केही रियाक्सन हुनै पर्छ। बल्ल त्यसले काम गर्छ। त्यसैले डराउनु पर्दैन।
खोपको फाइदा बेफाइदा आफ्नो ठाउँमा छ तर खोप लगाउनुपर्छ। काठमाडौंको कोलाहल हेर्दा कोरोना गइसक्यो भन्छन् तर खतरा अझै खतरा छ। अस्ति भर्खर हाम्रो अस्पतालको पूर्व डाइरेक्टर बित्नुभयो।
खोप लगाएपछि हामीले अरुलाई पनि सुरक्षित राख्न सक्ने भएकाले खोप लगाउनुपर्छ। खोप लगाएपछि पनि हामीले मास्क लगाउने, हात धुने र सामाजिक दुरी कायम राख्ने काम छोड्नु हुँदैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।