लण्डन–अमेरिकी खोप उत्पादक कम्पनी मडेर्नाले कोरोनाको नयाँ प्रजातिविरुद्ध खोपले काम गर्न थालेको जनाएको छ। कम्पनीले गरेको प्रारम्भिक परीक्षणमा खोपले शरीरमा एन्टीबडीज वृद्धि गरेको पाइएको हो।
यो तथ्यलाई अझ यकिन गर्न खोप लिएका अन्य मानिसमा पनि अध्ययन गर्नुपर्ने मडेर्नाले जनाएको छ। कम्पनीले खोपका दुवै डोज लिएका ८ जनाको रगतको नमुना परीक्षण गरेको थियो। खोपले शरीरले निर्माण गरेको रोगप्रतिरोधी प्रणालीलाई स्थिर राख्दै भाइरसलाई कोषिकाहरुमा प्रवेश गर्नबाट रोकेको अध्ययनका क्रममा पाइएको थियो।
मडेर्नाले खोपको तेस्रो डोज दिनुपर्छ कि पर्दैन भन्नेबारे पनि अध्ययन गरिरहेको छ। यस्तै, खोपलाई अझ बढी प्रभावकारी बनाउन रिडिजाइनिङ गर्न सकिन्छ कि भन्नेबारे कम्पनीले अध्ययन गरिरहेको जनाइएको छ।
बेलायत र दक्षिण अफ्रिकामा देखिएका कोरोनाका नयाँ प्रजाति बढी संक्रामक र मृत्युदर पनि बढी रहेको बताइएको छ। बेलायतमा यो गत सेप्टेम्बरमा पहिचान गरिएको थियो।
अहिलेको खोप कोरोनाको पूरानो प्रजातिविरुद्ध बनाइएको थियो। तर वैज्ञानिकहरुले खोपले नयाँ स्वरुपविरुद्ध पनि काम गर्ने विश्वास गरेका छन्। यसअघि फाइजरको खोपले पनि नयाँ स्वरुपविरुद्ध काम गरेको पाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।