काठमाडौं- प्रहरी महानिरीक्षक (आईजी) शैलेश थापा क्षेत्रीले पर्यटक प्रहरीलाई अतिथि देवो भव: अनुसार व्यवहार गर्न निर्देशन दिएका छन्। ४२औं पर्यटक प्रहरी दिवसको अवसरमा पर्यटन बोर्डमा आयोजित कार्यक्रममा आईजी क्षेत्रीले व्यावसायिक बनेर काम गर्न निर्देशन दिए।
पर्यटकप्रति सबैको समान दृष्टिकोण र सद्व्यवहार हुनुपर्ने उनले बताए। आईजी क्षेत्रीले प्रहरीको मनोबललाई अझ उच्च बनाउनको लागि स्थानीय तहबाट सकारात्मक अपेक्षा तथा सुझावको आवश्यकता रहेको उल्लेख गरे।
आगामी दिनमा पर्यटक प्रहरीलाई आवश्यकता अनुसार दक्ष बनाउँदै लैजाने उनले प्रतिवद्धता व्यक्त गरे। नेपाललाई सुरक्षित पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पर्यटनसँग आवद्ध सबै सरोकारवाला निकायहरुको भूमिका उत्तिकै महत्वपूर्ण रहेको चर्चा गर्दै पर्यटकीय स्थलहरुलाई कम प्रदूषित बनाउनको निम्ति चालिने कदमप्रति सबैको चासो हुनुपर्नेमा आईजी क्षेत्रीले जोड दिए।
उक्त समारोहमा पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले नेपाललाई सुरक्षित पर्यटक गन्तव्यको रुपमा विकास गर्दै लैजानका लागि सबै सरोकारवाला निकायसँग हातेमालो गर्दै अगाडि बढ्नुपर्ने उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।