काठमाडौं– एपिएफले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा समूह चरणको चारै खेलमा जित निकालेको छ। सोमबार भएको समूह ‘ए’ को अन्तिम खेलमा एपिएफले आर्मीलाई ६ रनले पराजित गरेको हो।
२४१ रनको मध्यम चुनौती पछ्याउँदै ब्याटिङ गरेको अर्मीले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २३४ रन मात्रै बनाउन सक्यो। अनिल मण्डलले ४५, राजेश पुलामी मगरले ३३, रोहित पौडेलले ३०, विक्रम सोबले २८, भीम शार्कीले २७, लोकश बमले २१, शाहब आलमले अविजित २० र आकाश चन्दले अविजित १६ रन बनाएपनि आर्मीले जित निकाल्न सकेन। बलिङतर्फ एपिएफका कमलसिंह ऐरीले तीन र भुवन कार्कीले दुई विकेट लिए।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित ओभर सकिन २ बल बाँकी छदा सबै विकेटको क्षतिमा २४० रन बनायो। एपिएफका लागि सुमित महर्जनले ४६, सुवास खकुरेलले ३८, सन्दीप जोराले २८, अमर रौटेलाले २६, कप्तान शरद भेषवाकरले २४ र बसन्त रेग्मीले २० रन बनाए। बलिङतर्फ हरि चौहानले पाँच विकेट लिए। त्यस्तै, शाहब आलमले दुई विकेट लिए।
सेमिफाइनल समिकरण पूरा
प्रधानमन्त्री कपको समूह चरणको अन्तिम खेलमा एपिएफले आर्मीलाई पराजित गरेसँगै सेमिफाइनल समीकरण पनि पूरा भएको छ।
सोमबार नै समूह ‘बी’ को अन्तिम खेलमा पुलिसले प्रदेश २ लाई चार विकेटले पराजित गरेको हो।
पहिलो सेमिफाइनलमा अब एपिएफले नेपाल पुलिस क्लबसँग बुधबार प्रतिस्पर्धा गर्ने भएको छ। त्यस्तै, दोस्रो सेमिफाइनलमा बागमती प्रदेश र आर्मीबीच बिहीबार फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ।
समूह ‘ए’ बाट एपिएफ क्लबले शतप्रतिशत जित निकाल्दै समूह विजेता बनेको हो। एपिएफले चार खेलबाट ८ अंक बनायो। उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको आर्मीले चार खेलमध्ये तीन खेलमा जित र एक खेलमा हारसहित ६ अंक बनायो। यो समूहबाट कर्णाली प्रदेश, प्रदेश १ र गण्डकी प्रदेश भने समूह चरणबाटै बाहिरिएका छन्।
समूह ‘बी’ बाट बागमती प्रदेश विजेता बन्दा उपविजेता नेपाल पुलिस क्लब बन्यो। बागमतीले चार खेलमध्ये तीन खेलमा जित र एक खेलमा बराबरी खेल्दै ७ अंक बनायो। नेपाल पुलिस क्लबले भने चार खेलमध्ये तीन खेलमा जित र एक खेलमा हार ब्यहोर्दै ६ अंक बनायो। ५ अंक बनाएको लुम्बिनी, २ अंक बनाएको सुदूरपश्चिम र अंक बिहीन बनेको प्रदेश २ भने समूह चरणबाटै बाहिरिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।