काठमाडौं– विभागीय टिम नेपाल पुलिस क्लब प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार भएको खेलमा प्रदेश २ लाई चार विकेटले पराजित गर्दै पुलिस सेमिफाइनलमा पुगेको हो।
मुलपानी क्रिकेट मैदानमा समूह ‘बी’ को अन्तिम खेलमा प्रदेश २ लाई पुलिसले सहजरुपमा पराजित गरेको हो। पुलिससँग प्रदेश २ पराजित भएसँगै लुम्बिनी प्रदेश पनि समूह चरणबाटै बाहिरिएको छ। प्रदेश २ सँग पुलिस हारेको भए लुम्बिनी प्रदेश सेमिफाइनलमा पुग्ने थियो। बागमती प्रदेश समूह ‘बी’ को विजेता बन्दा पुलिस उपविजेता बनेको छ।
१७० रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको पुलिसले ३८ ओभरको समाप्तिमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। पुलिसका लागि अनिलकुमार साहले अविजित ४७ र कुशल भुर्तेलले ४३ रन बनाए। बलिङतर्फ प्रदेश २ का विवेक यादव र कुमार थापाले समान ३–३ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले ४७ ओभरमा ९ विकेटको क्षतिमा १६९ रन बनाएको थियो। क्रिकेट मैदानको पिच चिसो भएको कारण तीन ओभर कटाउँदै ४७ ओभरमा खेल झारिएको थियो। प्रदेश २ का लागि हरिशंकर शाहले अर्धशतक बनाए। उनले ८४ बलमा पाँच चौका र एक छक्काको मद्दतमा ५३ रन जोडे। बलिङतर्फ ललितनारायण राजवंशीले चार विकेट लिए। त्यस्तै, सागर ढकालको नाममा दुई विकेट रह्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।