काठमाडौं- पर्यटन व्यवसायलाई विस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटक बस सेवा विस्तार हुने क्रम तीब्र छ। काठमाडौंलाई आधार बनाएर र अन्य मुख्य शहरबाट विभिन्न गन्तव्यमा पर्यटक बस सेवा विस्तार भइरहेको छ।
यसैक्रममा आन्तरिक पर्यटनमा पूर्वलाई काठमाडौंसँग पर्यटक बस सेवाबाट जोड्ने उद्देश्यले फागुन पहिलो साताबाट पर्यटक बस सञ्चालन गरिने भएको छ। फागुन पहिलो साताबाट काठमाडौं–भेडेटार र काठमाडौं–इलाम पर्यटक बस सेवा सञ्चालन हुनेछ।
नेपाल पर्यटक यातायात व्यवसायी संघको सक्रियता र नेपाल पर्यटन बोर्डको पहलमा पर्यटक बस सेवा चल्ने भएको हो। सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरी २७ सिटर पर्यटक बस सेवा सञ्चालन गरिनेछ।
हाल काठमाडौंबाट पोखरा, चितवन, लुम्बिनी, जनकपुर र वीरगञ्जका लागि पर्यटक बस सेवा उपलब्ध छ। नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मी पर्यटन प्रवर्द्धन र बस सेवासँगै गुणस्तरको वृद्धिले नै पर्यटनले आशातीत प्रतिफल पाउने बताए।
नेपालको पर्यटक यातायात क्षेत्रमा करिब १ अर्ब ५७ करोड रुपैयाँ लगानी रहेको पर्यटन मन्त्रालयले कोभिडको समयमा गरेको अध्ययनले देखाएको छ।
पर्यटक यातायात क्षेत्रले बैंकबाट ७१ करोड रुपैयाँ ऋण लिएका छन् भने उनीहरुले करिब २ करोड ४ लाख मासिक किस्ता तिर्दै आएको अध्ययननमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।