काठमाडौं- नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षले केपी ओलीलाई पार्टीको साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको छ। आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई कारबाही गरेको हो।
'यसअघि पार्टीको केन्द्रीय कमिटीको बैठकले मुक्त गरिनुभएका केन्द्रीय कमिटीले दिएको अधिकार प्रयोग गरी पार्टीको साधारण सदस्यताबाट समेत हटाउने निर्णय गरिएको छ', बैठकपछि सो पक्षका प्रवक्ता नारायणका काजी श्रेष्ठले भने।
सो पक्षले गत माघ ५ गते ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय बालुवाटारमा बुझाएको थियो।
'उहाँलाई यससँगै अध्यक्ष पदबाट हटाइएपछि पनि उहाँले संविधान र लोकतन्त्रको विरुद्ध, राष्ट्र र जनताको विरुद्ध र पार्टिको विरुद्ध पार्टीको विचार, नीति, कार्यक्रम र हितका विरुद्ध लगातार गतिविधि गर्नुभएकोले विधान अनुसार तपाईंलाई पार्टी सदस्यताबाट नै किन नहटाउने भनी स्पष्टीकरण सोधिएकोमा उहाँले स्पष्टीकरण दिनुभएन', श्रेष्ठले भने, 'यस स्थितिमा केन्द्रीय कमिटीले दिएको अधिकार प्रयोग गरी आजको स्थायी कमिटीको बैठकले विधान अनुसार उहाँलाई पार्टी सदस्यताबाट हटाउने निर्णय गरेको छ।'
पुस ५ मा प्रतिनिधि सभा विघटन भएपछि नेकपा विभाजित भएको छ। कानुनी रुपमा विभाजन हुन बाँकी रहेको पार्टीका दुई समूहले एक अर्काप्रति कारबाहीको शृंखला चलाएका छन्। ओली समूहले प्रचण्डलाई कार्यकारी अध्यक्षबाट र नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।