काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकले संकलन गर्दै आइरहेको राजस्व पिएसपीमार्फत संकलन गर्न एनसिएचएल, राष्ट्रिय वाणिज्य बैंक र आइएमई पेबीच सम्झौता भएको छ। यसअनुसार अब सेवाग्राहीले आइएमई पेमार्फत राजस्व तिर्न सक्छन्।
कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले त्रिपक्षीय सम्झौताले आम सेवाग्राहीलाई सरकारी राजस्व दाखिला गर्न सहज हुने बताए।
आइएमई डिजिटल सोलुसन लिमिटेडका व्यवसाय विकास प्रमुख आमोद भट्टराईले आइएमई पेको तर्फबाट सरकारको डिजिटल अभियान कार्यान्वयनमा ऐक्यबद्धता जनाउँदै विद्युतीय भुक्तानी सेवालाई आम जनमानसको पहुँचसम्म पुर्याउन र सरकारी कर तथा राजस्व भुक्तानीलगायत अन्य सेवा गुणस्तरीय तरिकाले प्रदान गर्न प्रतिवद्ध रहेको उल्लेख गरे।
झन्डै ३५ हजार एजेन्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो।
नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको छ। यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।