काठमाडौं- प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले अन्तिम एक रन ल्याउन नसक्दा बागमती प्रदेशसँग बराबरी खेलेको छ।
मुलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा बागमती र लुम्बिनी प्रदेशले बराबरी खेल्दै अंक बाँडेका हुन्। २२१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको लुम्बिनीले ४८ ओभरमा सबै विकेटको क्षतिमा २२० रन नै बनाएपछि खेल बराबरीमा सकिएको हो।
लुम्बिनीका कप्तान कृष्ण कार्कीले ४१ रन बनाउँदा प्रकाश केसीले पनि ४१ रन नै बनाए। सौरभ खनालले ३४, देव खनालले २६ र सन्दीप सुनारले २५ रनको योगदान दिए।
अन्तिम चार ओभरमा लुम्बिनीलाई जितका लागि ९ रन चाहिएको थियो भने उसको तीन विकेट बाँकी नै थियो। खेल लुम्बिनीको पक्षमा गइसकेको थियो। तर, ४६.३ ओभरमा कप्तान कृष्ण कार्की आउट भएसँगै लुम्बिनी दबाबमा आयो। त्यसपछि ४७.३ ओभरमा जितेन्द्र साहानी, विपिन आर्चायको बलमा सिकार भए।
दीपेन्द्र राउत रनआउट हुनुअघि लुम्बिनीलाई १ रनको आवश्यक थियो। तर, उनी आउट भएसँगै लुम्बिनीले बागमतीसँग बराबरी खेलेको हो। बलिङतर्फ बागमतीका विपिन आचार्यले चार विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २२० रन बनाएको थियो।
बागमतीका लागि आदिल खानले अर्धशतक बनाए। उनले ८७ बलमा पाँच चौका र तीन छक्का प्रहार गर्दै ५५ रन बनाए। त्यस्तै, इशान पाण्डेले अर्धशतकसँगै ५१ रन बनाउँदा आकाश थापाले ३९ र पृथु बास्कोटाले २९ रन जोडे।
बलिङतर्फ दीपेन्द्र राउतले तीन विकेट लिँदा सन्दीप सुनार र कृष्ण कार्कीले समान २–२ विकेट लिए। यो बराबरीसँगै बागमती प्रदेश भने सेमिफाइनलमा प्रवेश गरेको छ। चार खेलबाट तीन खेलमा जित र एक खेलमा बराबरी खेलेको बागमतीको ७ अंक छ।
चार खेलमध्ये दुई खेलमा जित, एक खेलमा हार र एक खेलमा बराबरी खेलेको लुम्बिनीले पाँच अंक बनाएको छ। पुलिस र प्रदेश-२ बीचको खेलले समूह ‘बी’ को सेमिफाइनल पुग्ने टीमको टुंगो लाग्नेछ। पुलिसले प्रदेश-२ लाई हराए सेमिफाइनलमा पुग्नेछ। पुलिस प्रदेश-२ सँग हारे, लुम्बिनी प्रदेश सेमिफाइनलमा पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।