काठमाडौं- कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज लगाएको एक महिनापछि दोस्रो डोज लगाइउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार निर्णय गर्दै खोपको पहिलो डोज लगाएको एक महिनापछि दोस्रो डोज लगाउने निर्णय भएको हो।
भारतले अनुदानमा पठाएको कोभिसिल्ड खोपको दुई डोज लगाउनुपर्ने हुन्छ। सरकारले फ्रन्टलाईनर स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखेर खोप अभियान सुरु गरिने भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १४ गते खोप अभियानको शुभारम्भ गर्ने भएका छन्। बिहान १० बजे भर्चुअल रूपमा खोप अभियानको उद्घाटन गर्ने मन्त्रालयले जनाएको छ। सात वटै प्रदेशमा एकैदिन खोप अभियान सुरु गर्ने सरकारको तयारी छ।
मन्त्रालयले आइतबारदेखि सात वटै प्रदेशमा खोप पठाउन समेत सुरु गरेको छ। आइतबार बिहान गण्डकी प्रदेशका लागि खोप पोखराका लागि पठाइएको मन्त्रालयले जनाएको छ। अन्य प्रदेशमा पनि आइतबार नै खोप पठाउने सरकारको तयारी छ।
यसअघि मन्त्रालयले खोपको व्यवस्थापनका लागि सात वटै प्रदेशमा संयोजक तोकेको थियो। भारत सरकारले नेपाललाई बिहीबार १० लाख डोज कोभिड खोप उपलब्ध गराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।