काठमाडौं-नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले मलेसियामा मृत्यु भएका १८ नेपालीको शव काठमाडौं ल्याइपुर्याएको छ। मलेसियास्थित नेपाली दूतावासको आग्रह अनुसार निगमको बाइडबडी–३३० ले १८ शव आज शनिबार ल्याएको हो।
शव बुझ्न त्रिभुवन विमानस्थल पुगेका आफन्तहरु निकै भावविह्वल देखिएका थिए। सुन्दर भविष्यको कल्पना गर्दै विदेशी भूमिमा पसिना बगाउन पुगेका परिवारका सदस्यहरु बाकसमा फिर्ता हुँदा उनीहरुले आफूलाई सम्हाल्न सकेका थिएनन्। आँखाबाट आँशु झरिरहेकाे थियो।
शव बोकेको बा २१ च ७७८ नम्बरको गाडीमा लेखिएको थियो–मिहिनेत गरे नेपालमै सुन फल्छ। यो कुरा उनीहरुले नबुझेका त होइनन्। तर नेपालमा रोजगारी नपाउँदा विदेशिन बाध्य भए। परिवार र आफ्ना सपना पूरा गर्न नपाउँदै बाकसमा फर्कनुपर्यो।
मलेसियास्थित नेपाली दूतावासले निगमलाई १५-१५ दिनमा शव बोक्नका लागि उडान गर्न आग्रह गर्दै आएको थियो। सोहीअनुसार परराष्ट्र मन्त्रालय र पर्यटन मन्त्रालयको सहकार्यमा १८ जनाको लिन शव लिन निगमको जहाज मलेसिया गएको हो। मलेसियामा हाल तीन दर्जनभन्दा बढी शव रहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।