काठमाडौं- प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा वागमती प्रदेशले प्रदेश नम्बर २ लाई ६ विकेटले हराएको छ। प्रदेश २ ले दिएको १८० रनको लक्ष्य वागमतीले ४८.२ ओभरमा ४ विकेट जाँदा पूरा गरेको हो। यो वागमतीको लगातार तेस्रो जित हो।
मूलपानी मैदानमा भएको खेलमा वागमतीका लागि आकाश थापाले ६२ बलमा ३२ रन, बिभत्सु थापाले ९३ बलमा ४७ रन, पृथु बाँस्कोटाले ७५ बलमा अविजित ५३ रन, इशान पाण्डेले ३७ बलमा १५ रन, ज्ञानेन्द्र मल्लले १२ बलमा ७ रन बनाए। प्रदेश २ का हरिशंकर शाहले दुई साथै बिशाल सुस्लिङ र कुमार थापाले एक एक विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश नम्बर २ ले ४८.२ ओभरमा १७९ रन बनाउँदा सबै विकेट गुमाएको थियो। जसमा सुधिर चौधरीले ३८ बलमा १५ रन, हरिशंकर शाहले १७ बलमा ६ रन, विशाल सुस्लिङले १८ बलमा ५ रन, सुरज कुर्मीले २९ बलमा १३ रन, राहुल प्रताप सिंहले ६२ बलमा १८ रन, विवेक यादवले ७४ बलमा ६६ रन, कुमार थापाले ३१ बलमा २२ रन बनाएका थिए।
वागमतीका लागि गौतम केसीले चार, रामनरेश गिरीले दुई साथै नन्दन यादव, तीलक भण्डारी र विपिन आचार्यले एक एक विकेट लिएका थिए।
वागमती प्रतियोगितामा समूह ‘बी’ को शीर्ष स्थानमा रहेको छ। यसअघि सुदूरपश्चिम प्रदेशलाई १८० रनले हराएको वागमतीले नेपाल पुलिस क्लबलाई ७ विकेटले हराएको थियो। वागमतीले समूह चरणको अन्तिम खेलमा आइतबार लुम्बिनी प्रदेशसँग खेल्नेछ।
यस्तै प्रदेश नम्बर २ यसअघि लुम्बिनी प्रदेशसँग ७७ रनले पराजित भएको थियो। प्रदेश २ ले अब सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लबसँग खेल्न बाँकी रहेको छ।
शुक्रबार नै भएको समूह ‘ए’ को खेलमा प्रदेश नम्बर १ ले कर्णाली प्रदेशलाई ५९ रनले हराएको थियो। प्रतियोगिताबाट बाहिरिसकेको प्रदेश १ ले समूह चरणको अन्तिम खेल जितेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।