काठमाडौं– अस्ट्रेलियामा बिग बास क्रिकेट खेलिरहेका सन्दीप लामिछानेले दिल्ली क्यापिटल्सलाई धन्यवाद दिएका छन्।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत सन्दीपले दिल्ली टिमलाई धन्यवाद दिएका हुन्। दिल्लीले सन्दीपलाई बुधबार (माघ सात गते) फुकुवा गरेको थियो। २०२१ को अक्सन फेब्रुअरी ११ मा हुने जनवरी २० सम्म सबै टिमले रिटेन र रिलिज खेलाडीको सूची आइपिएललाई बुझाउनुपर्ने मिति थियो। सोहीअनुसार दिल्लीले सन्दीपसहित विदेशी खेलाडीमा किमो पाउल, एलेक्स क्यारी र जासन रोयलाई रिलिज गरेको थियो।
सन्दीपले फेसबुमा स्टास्टस लेख्दै भनेका छन्, ‘मलाई विश्वास गरेर टिममा राखेकोमा दिल्ली परिवारलाई विशेष धन्यवाद छ। त्यो तीन वर्षे अवधि सम्झन लायक रह्यो। अब नयाँ गन्तव्य मोडिएको छ।’
विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज इन्डियन प्रिमियर लिग (आइपिएल) मा सन्दीप लगातार तीन सिजन दिल्ली क्यापिटल्समा अनुबन्धित भएका थिए। यसअघि उनलाई दिल्लीले लगातार दुई सिजन रिटेन गरेको थियो। डेब्यु सिजनमा सन्दीपले तीन खेलबाट पाँच विकेट लिएका थिए।
२०१९ को संस्करणमा भने सन्दीपले ६ खेलबाट ८ विकेट लिएका थिए। २०२० मा भएको आइपिएलमा भने सन्दीपले एक खेल पनि खेल्न पाएनन्। बेन्चमै रहेका सन्दीपप्रति टिमले विश्वास गरेन। टिमले फाइनलसम्मको यात्रा तय गर्दा बेन्चमै सन्दीपलाई राखेको दिल्लीले २०२१ को आइपिएलको लागि भने रिलिज गरिदिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।