काठमाडौं–एपिएफले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एक दिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ। बिहीबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा एपिएफले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो। यता, गण्डकी प्रदेश भने प्रतियोगिताबाटै बाहिरिएको छ।
१०७ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको एपिएफले १७.३ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेट्टायो। पहिलो ओभरमा नै महत्वपूर्ण दुई विकेट गुमाएको एपिएफले सम्हालिएर खेल्दै जित निकालेको हो। एपिएफको जितमा आशिफ शेखले उत्कृष्ट प्रदर्शन गरे। उनले ५६ बलमा ६ छक्का र पाँच चौका प्रहार गर्दै ७८ रन जोडे। त्यस्तै, सुमित महर्जनले १८ रन बनाए।
बलिङतर्फ गण्डकीका चन्द्र पौडेल र विशाल पौडेलले समान २–२ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले ४६ ओभरमा सबै विकेटको क्षतिमा १०६ रन बनाएको थियो। गण्डकीका लागि समिर कँडेलले ३६, विष्णु पाण्डे र दिपेश खत्रीले समान १५–१५ रन बनाए। बलिङतर्फ एपिएफका कमलसिंह ऐरीले १० ओभरमा तीन मेडनसहित ११ रन खर्चिएर चार विकेट लिए। अविनाश बोहरा र शरद भेषवाकरले समान २–२ विकेट लिए।
एपिएफले यसअघि आफ्नो पहिलो खेलमा प्रदेश १ लाई १३५ रनले पराजित गरेको थियो। यता, गण्डकी प्रदेश भने प्रधानमन्त्री कपबाटै बाहिरिएको छ। समूह चरणको सबै खेल खेलेको गण्डकीले तीन खेलमा हार ब्यहोर्दा एक खेलमा जित निकालेको छ।
आफ्नो पहिलो खेलमा आर्मीसँग ९८ रनले हारेको गण्डकीले दोस्रो खेलमा भने प्रदेश १ लाई दुई विकेटले पराजित गरेको थियो। त्यसपछि कर्णालीसँग पाँच विकेट र एपिएफसँग ६ विकेटले पराजित हुँदै गण्डकी प्रतियोगिताबाटै बाहिरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।