काठमाडौं– प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुनिल धमलाले शतक बनाएका छन्। पुलिसका ओपनर ब्याट्सम्यान सुनिलले लुम्बिनी प्रदेशविरुद्ध शतक बनाएका हुन्।
प्रधानमन्त्री कपमा आफ्नो पहिलो शतक बनाउने क्रममा सुनिलले १४२ बलको सामना गरे। अनिल खरेलको बलमा आउट हुनुअघि सुनीलले १४५ बलको सामना गर्दै सात चौका र एक छक्कासहित १०४ रन बनाए। जारी प्रधानमन्त्री कपमा यो दोस्रो शतक हो। यसअघि आर्मीका कप्तान विनोद भण्डारीले गण्डकी प्रदेशविरुद्ध शतक बनाएका थिए। विनोदले गण्डकीविरुद्ध ७६ बलमा ९ चौका र ५ छक्का प्रहार गर्दै अविजित १११ रन बनाएका थिए।
पवनको १३ बलमा अर्धशतक
त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा चार विकेटको क्षतिमा ३१० रन बनाएको छ। योसँगै लुम्बिनी प्रदेशले ३११ रनको लक्ष्य पाएको छ।
पुलिसको उच्च स्कोरमा सुनिल धमलासँगै दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले उत्कृष्ट ब्याटिङ गरे। दीपेन्द्रले ६१ बलमा ६ छक्का र एक चौका प्रहार गर्दै ८६ रन बनाए। अमित श्रेष्ठ र आरिफ शेखले अविजित २९ रन बनाउँदा छैटौं नम्बरमा ब्याटिङ गर्न आएका पवनले विष्फोटक ब्याटिङ गरे।
पवनले मात्र १३ बलमा ६ छक्का र एक छौका प्रहार गर्दै अविजित ५० रन बनाए। पवनले अन्तिम ओभरमा मात्रै २८ रन बनाए। उनले लुम्बिनीका बलर सौरभ खनाललाई लगातार तीन बलमा छक्का प्रहार गरेका थिए। चौथो र पाँचौ बलमा २–२ रन लिएका पवनले छैटौं बलमा फेरि छक्का प्रहार गर्दै अन्तिम ओभरमा मात्रै २८ रन जोडे।
बलिङतर्फ क्रिष्ण कार्की, अनिल खरेल, सन्दीप सुनार र सौरभ खनालले समान १–१ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।