काठमाडौं- कोभिड भ्याक्सिनको सहज आपूर्ति र छिटो भन्सार जाँचपासका लागि डेडिकेटेड टिम खटाइने भएको छ। भन्सार विभागले भ्याक्सिन आयात हुने प्रमुख भन्सार कार्यालयहरूमा डेडिकेटेड युनिट खडा गर्ने निर्णय विभागले गरेको छ।
विभागका महानिर्देशक सुमन दाहालले भन्सार विभागमा तत्काल समस्या समाधानका लागि र्यापिड एक्सन टिम खडा गर्ने जानकारी दिए। खोप आइपुग्नु अघि नै कागजातहरू उपलब्ध भए खडा भएको डेडिकेटेड टिमले जाँचपास पूर्वको प्रक्रिया (प्रि अराइभल प्रोसेसिङ) मिलाउने पनि विभागले जनाएको छ।
'कोभिड भ्याक्सिनको सहज जाँचपासका लागि भन्सार विभागले पूर्वसक्रियता देखाउँदै तयारी अघि बढाएको हो,' महानिर्देशक दाहालले भने, 'सामाजिक हित संरक्षणको जिम्मा पनि भन्सारको हो, यसका लागा हामीले गर्नुपर्ने सबै काम शीघ्र कार्यान्वयन गर्छौँ।'
आयातकर्ताले औषधी व्यवस्था विभागबाट प्राप्त गरेको खोप अनुमतिको प्रमाणपत्रसहित पैठारीसम्बन्धी पेश भएका कागजातको आधारमा शीघ्र जाँचपासको व्यवस्था मिलाइने भन्सार विभागले जनाएको छ। यसका लागि काउन्टर र गेटबाटै तत्काल जाँचपास गरिने भन्सार विभागले जनाएको छ।
जाँचपासका क्रममा महसुल विवाद भएमा स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर काम अघि बढाउने तयारी भइरहेको पनि महानिर्देशक दाहालले जानकारी दिए। खोपको गुणस्तरीयता कायमका लागि निश्चित भन्सार बिन्दुबाट मात्रै जाँचपासको तयारी भएको विभागले जनाएको छ। यसैगरी सार्वजनिक बिदाको दिनमा पनि यस्ता मालवस्तुको जाँचपासको व्यवस्था मिलाइएको छ।
यसैगरी पुनः प्रयोग गर्न मिल्ने कोल्डचेन उपकरण, कन्टेनर तथा बक्स फिर्ता गर्न चाहेमा तत्काल फिर्ताको व्यवस्था मिलाउने पनि विभागको भनाइ छ।
कोभिड भ्याक्सिन बोकेर भारतबाट पहिलो जहाज बिहीबार बिहान काठमाडौं आउँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।