काठमाडौं– दिल्ली क्यापिटल्सले सन्दीप लामिछानेलाई रिलिज गरेको छ। विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज इन्डियन प्रिमियर लिग (आइपिएल) को टिम दिल्लीले रिलिज र रिटेनको अन्तिम मिति आज (बुधबार) सन्दीपलाई रिलिज गरेको हो।
२०२१ को अक्सन फेब्रुअरी ११ मा हुने जनवरी २० मा सबै टिमले रिटेन र रिलिज खेलाडीको सूची आइपिएललाई बुझाउनुपर्ने मिति थियो।
सन्दीपसहित रिलिज हुने विदेशी खेलाडीमा किमो पाउल, एलेक्स क्यारी र जासन रोय रहेका छन्। त्यस्तै, रिलिज भएका भारतीय खेलाडीमा मोहित शर्मा र तुसारदेश पाण्डे रहेका छन्।
लगातार तीन सिजन आइपिएलका लागि दिल्ली क्यापिटल्समा अनुबन्धित भएका सन्दीप लामिछानेलाई यसअघि लगातार दुई सिजन दिल्लीले रिटेन गरेको थियो। डेब्यु सिजनमा सन्दीपले तीन खेलबाट पाँच विकेट लिएका थिए।
२०१९ को संस्करणमा भने सन्दीपले ६ खेलबाट ८ विकेट लिएका थिए। २०२० मा भएको आइपिएलमा भने सन्दीपले एक खेल पनि खेल्न पाएनन्। बेन्चमै रहेका सन्दीपप्रति टिमले विश्वास गरेन। टिमले फाइनलसम्मको यात्रा तय गर्दा बेन्चमै सन्दीपलाई राखेको दिल्लीले २०२१ को आइपिएलको लागि भने रिलिज गरिदिएको छ।
१४ औं संस्करणको आइपिएल कहाँ र कुन मितिमा हुने त्यसको टुंगो भने लागिसकेको छैन। १३ औं संस्करणको आइपिएल भने युएईमा सम्पन्न भएको थियो। फाइनलमा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै मुम्बई इन्डियन्सले पाँचौं पटक उपाधि जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।