बेइजिङ- तीन महिनापछि चिनियाँ अर्बपति ज्याक मा सार्वजनिक रूपमा देखिएका छन्। माले बुधबार एक सय जना ग्रामीण शिक्षकहरुलाई सम्बोधन गरेको बिबिसीले उल्लेख गरेको छ। गत वर्ष अक्टोबरदेखि उनी सार्वजनिक रुपमा देखिएका थिएनन्।
आफ्नो च्यारिटी फाउन्डेसनको एक अभियानका लागि भिडियो कलमार्फत् ग्रामीण क्षेत्रका विद्यालयमा काम गरिरहेका शिक्षकहरुसँग उनले कुराकानी गरेका हुन्। अलिबाबा कम्पनी सुरू गर्नुअघि उनले पनि ग्रामिण विद्यालयमा अंग्रेजी विषय अध्यापन गराउने गरेको सञ्चारमाध्यमहरूले जनाएका छन्।
चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले ज्याक माको भिडियो पोस्ट गरेको हो। वित्तीय नियामक संस्थाहरूले अलिबाबा कम्पनीका विषयमा जाँच शुरु गरेपछि अलिबाबा मिडियामा देखिएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ।
ज्याक माको भिडियो सार्वजनिक हुनासाथ हङकङ स्टक एक्स्चेन्जको सूचीमा रहेको उनको कम्पनीको शेयर मूल्य पाँच प्रतिशतसम्म बढेको सिएनएनले जनाएको छ। गत वर्ष अक्टोबरमा एन्ट ग्रुपको आइपीओ जारी गरेपछि उनले यो विश्वकै सबैभन्दा ठूलो आइपिओ भएको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।