काठमाडौं- प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर १ लाई त्रिभुवन आर्मी क्लबले ४ विकेटले हराएको छ। प्रदेश १ ले दिएको १३२ रनको लक्ष्य आर्मीले २९.५ ओभरमा ६ विकेट जाँदा पूरा गरेको हो। यो आर्मीको लगातार तेस्रो जित हो भने प्रदेश १ को लगातार तेस्रो हार हो।
मूलपानी मैदानमा भएको खेलमा आर्मीका लागि लोकेश बमले १६ बलमा १३ रन, हरि चौहानले २९ बलमा ८ रन, बिनोद भण्डारीले १५ बलमा ५ रन, रोहित पौडेलले ३१ बलमा ३६ रन, भिम सार्कीले ६१ बलमा २९ रन साथै राजेश पुलामीले २७ बलमा २४ रन बनाए।
प्रदेश नम्बर १ का फिर्दोष अन्सारी, ज्ञानेन्द्र श्रेष्ठ, दिपेश कँडेल र सुभांकर उरावले एक–एक विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश नम्बर १ ले ४०.१ ओभरमा १३१ रन बनाउँदा सबै विकेट गुमाएको थियो। जसमा दीपक पासवानले १८ बलमा १९ रन, बिवेक मेहताले ८३ बलमा ५० रन, फिर्दोष अन्सारीले ९० बलमा ३२ रन, दिपेश कँडेलले १६ बलमा ११ रन बनाएका थिए।
आर्मीका लागि साहब आलमले चार, आकाश चन्दले तीन साथै सुसन भारी, राजेश पुलामी र भिम सार्कीले एक–एक विकेट लिएका थिए।
आर्मीले यसअघि कर्णाली प्रदेशलाई ८० रनले साथै गण्डकी प्रदेशलाई ९८ रनले हराएको थियो। यस्तै यसअघि गण्डकीसँग दुई विकेटले हारेको प्रदेश नम्बर १ ले एपिएफसँगको खेल १३५ रनले हारेको थियो।
यसअघि बुधबार नै भएको खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।