काठमाडौं- नेपाललाई भारतले उपलब्ध गराउने कोरोना विरुद्धको भ्याक्सिनको १० लाख डोज भ्याक्सिन बिहीबारै काठमाडौं आइपुग्ने भएको छ। भारतले पहिलो चरणमा १० लाख डाेज खाेप अनुदान स्वरूप उपलब्ध गराउने र उक्त खोप बिहीबार नै काठमाडौं ल्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताएका हुन्। नेपाललाई डेढ कराेड डाेज कोरोनाविरुद्धको खाेप उपलब्ध गराउन भारत तयार रहेको बताइएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नेपालका स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी यसको जानकारी दिएका हुन्।
भारतले नेपालसहित ६ छिमेकी देशलाई कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार जानकारी दिएका थिए।
भ्याक्सिनको प्रयोगबारे भारतले यी ६ देशका लागि दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम पनि बुधबार समापन हुँदैछ। प्रशिक्षक प्रशिक्षण कार्यक्रम भर्चुअल रूपमा संचालन भइरहेको छ।
भारतले विकास गरेको कोभिसल्ड भ्याक्सिनको आपत्कालीन प्रयोगलाई नेपालको औषधि व्यवस्था विभागले स्वीकृति समेत दिइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।