काठमाडौं- विभागीय टिम नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ। पुलिसले बुधबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गरेको हो।
यसअघि आफ्नो पहिलो खेलमा बागमती प्रदेशसँग ७ विकेटले हारेको पुलिसले आफ्नो दोस्रो खेलमा भने सुदूरपश्चिमलाई सहजै पराजित गरेको हो। १११ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको पुलिसले एक विकेटको क्षतिमा १७ ओभरको समाप्तिमै लक्ष्य भेटायो।
पुलिसका लागि ओपनर सुनिल धमला र कुशल भुर्तेलले अर्धशतक बनाए। ५७ बलमा ६ चौका र दुई छक्का प्रहार गरेका सुनिल ५३ रनमा आउट भए। यता, कुशल भने ४४ बलमा ९ चौका र एक छक्का प्रहार गर्दै ५१ रनमा अविजित रहे। बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामीले एक विकेट लिए।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले ३३.१ ओभरमा सबै विकेटको क्षतिमा ११० रन मात्रै बनाएको थियो।
सुदूरपश्चिमका पाँच खेलाडी शून्यमै आउट हुँदा चार खेलाडीले मात्रै दोहोरो अंक बनाए। खडक बोहराले ४०, सन्जु दमाईले ३५, अरुण ऐरीले १३ र अर्जुन साउदले १० रन बनाए।
बलिङतर्फ दीपेन्द्रसिंह ऐरी र सागर ढकालले समान ४–४ विकेट लिए। दीपेन्द्रले ६.२ ओभरमा दुई मेडनसहित १० रन खर्चिएर चार विकेट लिए। सागरले १० ओभरमा तीन मेडनसहित १८ रन खर्चिएर चार विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।