काठमाडौं–धनगढी क्रिकेट एकेडेमीलाई सगरमाथा सिमेन्टले प्रायोजन गरेको छ। बुधबार धनगढी क्रिकेट एकेडेमी र सगरमाथा सिमेन्टबीच प्रायोजनका लागि सम्झौता भएको हो।
सगरमाथा सिमेन्ट र धनगढी क्रिकेट एकेडेमीबीच तीन वर्षका लागि प्रायोजन सम्झौता भएको हो। सगरमाथा सिमेन्टका तर्फबाट मार्केटिङ प्रमुख प्रतिक अधिकारी र एकेडेमीका अध्यक्ष सुवास शाहीले सम्झौतापत्रमा हस्ताक्षर गरे। सम्झौता अनुसार तीन वर्षका लागि धनगढी क्रिकेट एकेडेमीलाई आवश्यक पर्ने खेल सामग्री, आयोजना गर्ने प्रतियोगिता, ग्रास रुट कार्यक्रमलगायत सम्पूर्ण कार्यलाई सगरमाथा सिमेन्टले सहयोग गर्नेछ। धनगढी क्रिकेट एकेडेमीले प्रयोग गर्ने जर्सी तथा आयोजना गर्ने प्रतियोगितामा सिमेन्टको लोगो प्रयोग गर्नेछ।
धनगढी क्रिकेट एकेडेमीले नेपालमा पहिलो पटक फ्रेन्चाइज क्रिकेट लिगको सुरुवात गरेको थियो। एकेडेमीले ‘धनगढी क्रिकेट लिग हुँदै धनगढी प्रिमियर लिगका तीन संस्करण सफलतापूर्वक सम्पन्न गरेको छ।
सगरमाथा सिमेन्टसँग धनगढी क्रिकेट एकेडेमीको स्तरोन्नती तथा ग्रासरुट क्रिकेटको विकासमा सहकार्य गर्न सम्झौता गरेको एकेडेमीका अध्यक्ष सुवास शाहीले बताएका छन्।
‘ग्रासरुट क्रिकेटको विकासमा सगरमाथा सिमेन्टको प्रवेशले नेपाली क्रिकेटको प्रवर्द्धनमा ठूलो भूमिका खेल्नेछ। कम्पनीले धनगढीमा निर्माण हुने फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानमा समेत सघाउने प्रतिबद्धता जनाउँदा हामी उत्साहित भएका छौं’, अध्यक्ष शाहीले भने।
सगरमाथा सिमेन्टका मार्केटिङ प्रमुख अधिकारीले नेपाली क्रिकेटको विकास गर्न एकेडेमीसँग सहकार्य गरेको बताएका छन्। उनले भने, ‘हामीले धनगढी क्रिकेट लिग हुँदै धनगढी प्रिमियर लिगलाई पनि मुख्य प्रायोजन गरिसकेका छौं। नेपाली क्रिकेटको विकासका लागि प्रतिबद्ध हाम्रो कम्पनीले यसपटक एकेडेमीमार्फत ग्रासरुट क्रिकेटको विकासमा योगदान गर्ने निर्णय गरेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।